एजेण्डालाई अन्तिम रुप दिन भोलि मंगलबार बिहान पनि धुम्बाराहीमा पुनः छलफल हुनेछ । आजको बैठकमा केन्द्रीय समितिको बैठकमा उठाउनुपर्ने भन्दै धेरै एजेन्डा आएपछि सभापति शेरबहादुर देउवाले बैठकको प्रत्यक्ष प्रसारण गरौँ भन्ने प्रस्ताव गरेका थिए । सभापति देउवाले प्रस्ताव गरेपनि प्रत्यक्ष प्रसारण गर्ने कि नगर्ने भन्ने निर्णय भएको छैन ।
प्रत्यक्ष प्रशारण गर्दा त्यसमा आउने प्राविधिक समस्या के कस्ता हुने भन्ने विषयमा केहीबेर चर्चा भएको थियो । लामो समयपछि केन्द्रीय समितिको बैठक बस्न लागेकाले नेतृत्वप्रति धेरै आलोचना हुने अनुमान सभापति देउवाको छ । यसैले उनले प्रत्यक्ष प्रसारणको प्रस्ताव गरेका हुन् । प्रत्यक्ष प्रसारण भएमा बोल्ने केन्द्रीय सदस्यहरूले धेरै आलोचना गर्न पाउँदैनन् ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार भोलिको बैठक लाइभ गर्ने कि भन्ने प्रस्ताव सभापतिबाट आएको थियो । सभापति देउवाले नै बैठक प्रत्यक्ष प्रशारण गर्ने प्रस्ताव गरेपछि पदाधिकारी बैठकमा कसरी प्रत्यक्ष प्रशारण गर्ने भन्ने विषयमा लामो छलफल चलेको हो । बैठक प्रत्यक्ष प्रशारण गर्दा नेताहरूले कम र ठीक मात्रै बोल्ने कुरामा प्रश्न पनि उठाइएको थियो ।
एजेन्डा तय गर्न भनी बैठक बोलाए पनि एजेन्डा भने फाइनल भएनन् । भोलि पनि एजेन्डामा छलफल हुनेछ । बैठक सुरु हुनु अघिल्लो दिनसम्म कांग्रेसले एजेन्डा तय गर्न सकेको छैन । एक वर्षपछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीको केन्द्रीय समितिको बैठकमा पेस गर्ने एजेन्डाबारे आजको छलफल केन्द्रित थियो ।
साउन २ गते मंगलबार बस्ने केन्द्रीय कार्यसमिति बैठकको एजेन्डा तय हुने महामन्त्री गगन थापाले बताए । गत २७ असारमा बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक साउन २ सम्मका लागि स्थगित भएको थियो । शीर्ष नेताको बैठकबाट केन्द्रीय समितिको बैठकका एजेन्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्ने कांग्रेसको तयारी छ ।
महामन्त्रीद्वयले कार्यसम्पादन समितिबाट भएका निर्णयको अनुमोदन, पार्टी सदस्यता, अनुशासन सम्बन्धी विषय, नीति महाधिवेशनको तिथि मिति, समसामयिक राजनीति लगायतका एजेन्डा बनाएका छन् । पार्टीका प्रभावशाली नेता बालकृष्ण खाँण मुछिएको नक्कली शरणार्थी प्रकरणको विषयलाई केन्द्रीय कार्यसमिति बैठकको एजेन्डा बनाउने कि, नबनाउने भन्नेमा कांग्रेसभित्र मतभेद छ ।
नेपाली कांग्रेस