

भारतको बिहार राज्यमा आउँदो मंगलबार हुन लागेको विधानसभा निर्वाचनलाई लक्षित गरी महोत्तरीसँग जोडिएका ११ वटा सीमानाका आजदेखि ७२ घण्टाका लागि बन्द बन्द हुने भएका छन् ।
बिहार विधानसभा चुनावअन्तर्गत गत बिहीबार पहिलो चरणको मतदान भइसकेको छ, भने दोस्रो चरणको मतदान यही ११ तारिख हुँदै छ ।
उक्त अवधिमा सुरक्षा व्यवस्था सुदृढ गर्न त्यसतर्फ नेपाल-भारत सीमावर्ती क्षेत्रका नाका ३ दिनका लागि बन्द गरिने भएको जनाइएको छ ।
भारतको बिहार राज्यको विभिन्न विधानसभाको सिटमा यही २५ कात्तिकमा हुन लागेको दोस्रो चरणको निर्वाचनलाई लक्षित गरी आज साँझ ६ बजेदेखि २५ कात्तिकको साँझ ६ बजेसम्मका लागि महोत्तरीसँग जोडिएका सबै सीमानाका बन्द गरिनुका साथै उच्च सतर्कता अपनाइने महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीले एक सूचना जारी गर्दै शान्ति सूरक्षा व्यवस्थापनका लागि नेपाल-भारत सीमानाकामा मानवीय आकस्मिक सेवाबाहेकका आवागमन पूर्ण रुपमा बन्द गरिने भएको जानकारी दिएको जनाइएको छ।


