

मकवानपुर जिल्लाको हेटौंडा बजारको सडक सीमा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा तथा अन्य संरचना हटाउने काम सुरु गरिएको जनाइएको छ । सडक डिभिजन कार्यालय हेटौंडाले स्थानीय प्रशासनको सहयोगमा डोजर प्रयोग गरी संरचना भत्काउने तथा सडक विस्तारको काम अघि बढाएको छ ।
सडक डिभिजनले रेखाङ्कभित्र परेका संरचना हटाउने भन्दै हेटौंडाका विभिन्न स्थानमा एकै साथ तीन–चार ठाउँबाट सडक विस्तारको काम थालेका छन् ।
विस्तार कार्यसँगै स्थानीयबासी तथा व्यापारीहरूले घर र पसल खाली गर्दै सामान अन्यत्र सारिरहेको जनाइएको छ
सडक डिभिजन कार्यालय हेटौंडाले गत मंसिर ५ गते महेन्द्र राजमार्गअन्तर्गत रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म तथा त्रिभुवन राजपथअन्तर्गत बुद्धचोकदेखि सामरी पुलसम्मको सडकलाई दुवै तर्फ २५–२५ गज (७५–७५ फिट) विस्तार गर्ने योजना सार्वजनिक गर्दै सडक सीमाभित्र अतिक्रमण गरी बनाइएका संरचना हटाउन १५ दिने सूचना जारी गरेको थियो, उक्त सूचना अनुसार बुधवारसम्म अन्तिम समयसीमा तोकिएको थियो । सडक विस्तारको निर्णयविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतले शुक्रबार कारण देखाऊ आदेश जारी गरेको छ। पूर्वसांसद विन्दबासिनी कंसाकारले यही मंसिर १६ गते दायर गरेको रिटमा सुनुवाइ गर्दै अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै आउँदो २६ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । तर सडक डिभिजन कार्यालय हेटौंडाले सर्वोच्च अदालतको थप आदेश नआएसम्म पूर्वनिर्धारित योजनाअनुसार सडक विस्तारको काम निरन्तर जारी रहने जनाएको छ।


