





जिल्ला प्रशासन कार्यालय पर्साको पहलमा आज सम्पन्न सर्वदलीय सर्वपक्षीय बैठकको निर्णय अनुसार वीरगञ्ज महानगर क्षेत्रमा लगाइएको कर्फ्यू आदेश हटाइएको छ।
हालै उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै शान्ति, सुरक्षा तथा सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले आयोजना गरिएको उक्त बैठकमा राजनीतिक दलका प्रतिनिधि, धार्मिक तथा सामुदायिक अगुवा, नागरिक समाज र सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो। बैठकमा सबै पक्षले आपसी समझदारी, सहिष्णुता र संयमता अपनाउँदै शान्ति कायम राख्न प्रतिबद्धता जनाएका छन्।
बैठकको सर्वसम्मत निर्णयअनुसार मिति २०८२ साल पुस २२ गते साँझ ६:०० बजेदेखि लागू हुँदै आएको कर्फ्यू आदेश पूर्ण रूपमा हटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रशासनले आम नागरिकलाई कानुनको पालना गर्न, अफवाह र उत्तेजक गतिविधिबाट टाढा रहन तथा शान्ति सुव्यवस्था कायम गर्न सहयोग गर्न अनुरोध गरेको छ। साथै, कुनै पनि शंकास्पद गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालय वा सुरक्षा निकायलाई जानकारी गराउन आग्रह गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले सुरक्षा व्यवस्था यथावत् रहने जनाउँदै सबै समुदायबीच आपसी सद्भाव, भाइचारा र शान्ति कायम राख्न सबैको सक्रिय भूमिका आवश्यक रहेको स्पष्ट पारेको छ।


