Thursday, April 23, 2026

कास्कीका पोखरामा प्रहरीको‘स्वीप अपरेसन’एकै रातमा १२२ जना पक्राउ:-

ताजा / भरखरै प्राप्त

पोखराको लेकसाइडदेखि काहुँडाँडासम्म प्रहरीको व्यापक छापा एकैपटक एकै रातमा १२२ कास्की प्रहरीद्वारा पक्राउ ।

पोखराका विभिन्न क्षेत्रमा बुधबार राति देखिएको एकाएक प्रहरीको उच्च सक्रियताले शहरभर त्रास, कौतुहल र चर्चाको वातावरण सिर्जना गर्‍यो । काहुँडाँडा, लम्भीडाँडा, रामबजार, लेखनाथ क्षेत्रका ताल आसपास, लेकसाइड, महतगौंडा, दोबिल्लालगायतका स्थानमा प्रहरीको बाक्लो उपस्थिति, सोधपुछ, शंकास्पद व्यक्तिहरूको नियन्त्रण र भ्यानमा हालेर लैजाने दृश्यले रातभर पोखरा ‘सिकायत–अपरेसन’ मोडमा पुगेको जस्तो देखिन्थ्यो ।
करिब ९ बजेदेखि सुरु भएको यो अभियान बिहीबार बिहान ५ बजेसम्म निरन्तर करिब १० घण्टा सञ्चालन भयो । सुरुमा स्थानीयले यो आकस्मिक गतिविधिलाई सामान्य सुरक्षा जाँचभन्दा माथिको कुनै विशेष घटना भएको अनुमान गरे पनि पछि मात्र यसको वास्तविकता सार्वजनिक भयो– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘स्वीप अपरेसन’ ।
१०० प्रहरी परिचालन, १२२ जना पक्राउ
कास्की प्रहरीका अनुसार यो विशेष अपरेसनमा करिब १०० जना प्रहरी परिचालन गरिएको थियो । अभियानको मुख्य उद्देश्य टोले गुण्डागर्दी, लागुऔषध ओसारपसार तथा सेवन, मादक पदार्थ सेवन गरेर सार्वजनिक स्थानमा अशान्ति फैलाउने र शंकास्पद गतिविधि गर्ने समूहलाई नियन्त्रणमा लिनु रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नवीन कार्कीका अनुसार १० घण्टे लामो अभियानमा कुल १२२ जना पक्राउ परेका छन् । उनले भने, “टोले गुण्डागर्दी, लागुऔषध कारोबार र प्रयोग, शंकास्पद गतिविधि तथा मादक पदार्थ सेवन गरेर सार्वजनिक शान्ति भंग गर्नेहरूलाई लक्षित गरी यो अभियान सञ्चालन गरिएको हो । केहीलाई सोधपुछपछि छोडिएको छ भने केहीमाथि थप अनुसन्धान भइरहेको छ।”
यो अपरेसनलाई नयाँ वर्ष २०८३ को सुरुवातसँगै कास्की प्रहरीले गरेको सबैभन्दा ठूलो एकै रातको कारबाहीमध्ये एक मानिएको छ । यसअघि नयाँ वर्षकै दिन २२ जना पक्राउ परेका थिए, जसमा मानव बेचबिखन र अभद्र व्यवहारसम्बन्धी मुद्दासमेत दर्ता गरिएको थियो ।
लेकसाइड केन्द्रित कारबाही, पर्यटक क्षेत्रमा कडा निगरानी
पोखराको पर्यटन केन्द्र लेकसाइड पनि यस अपरेसनको प्रमुख फोकसमा रह्यो । ओजन गल्लीसहित विभिन्न स्थानमा प्रहरीले विशेष निगरानी राख्दै २० जना महिलालाई समेत नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार ती महिलाहरूले पर्यटकहरूलाई दु:ख दिएको, मोलमोलाई गर्ने, होटलसम्म मिलाएर लैजाने र अनैतिक गतिविधिमा संलग्न रहेको गुनासोका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । स्थानीय व्यवसायीहरूले समेत सडकबाटै खुलेआम यौन धन्दा सञ्चालन हुने गरेको भन्दै प्रहरीलाई मौखिक उजुरी दिएका थिए ।
वैशाख ५ र ८ गते गरी गरिएको कारबाहीमा ती महिलाहरू पक्राउ परेका हुन् । प्रहरीका अनुसार उनीहरूविरुद्ध पर्यटकलाई लक्षित गरी ठगी र अनैतिक गतिविधि सञ्चालन गरेको आरोपमा अनुसन्धान अघि बढाइएको छ ।
समाजमा त्रास र समर्थन दुवै प्रतिक्रिया
स्वीप अपरेसनको प्रभावले पोखरामा एकातर्फ सुरक्षा सन्देश गएको छ भने अर्कोतर्फ सामान्य नागरिक पनि अनावश्यक रूपमा नियन्त्रणमा पर्न सक्ने आशंका पनि उठेको छ । नागरिक समाजका प्रतिनिधिहरूले प्रहरीलाई सचेत रहन आग्रह गर्दै अपरेसनका क्रममा निर्दोष नागरिक पनि प्रभावित हुन सक्ने जोखिम औँल्याएका छन् ।
नागरिक समाजका एक प्रतिनिधिका अनुसार, “गल्ती नगरेका, सडकमा हिँडिरहेका वा सामान्य रूपमा बसेका नागरिक पनि गलत बुझाइमा पक्राउ पर्ने सम्भावना रहन्छ । त्यसैले प्रहरीले थप संवेदनशीलता अपनाउनुपर्छ।”
प्रहरीको स्पष्ट सन्देश– अशान्तिविरुद्ध कठोर कदम
एसपी नवीन कार्कीले भने प्रहरीको उद्देश्य नागरिकको स्वतन्त्रता कुण्ठित गर्नु नभई समाजमा शान्ति र सुरक्षा कायम गर्नु रहेको स्पष्ट पारे । उनका अनुसार, “नागरिकले कानुनको परिधिभित्र रहेर स्वतन्त्र रूपमा हिँडडुल, मनोरञ्जन र व्यवसाय गर्न पाउँछन् । तर समाजमा अशान्ति फैलाउने, गुण्डागर्दी गर्ने र लागुऔषधको कारोबार गर्नेविरुद्ध प्रहरी कठोर रूपमा प्रस्तुत हुन्छ।”
उनले थपे, “पोखरामा लागुऔषध प्रयोगकर्ता र कारोबारकर्ताको संख्या बढ्दै गएको छ । जेनजी आन्दोलनपछि समाजमा देखिएको अस्थिरता र त्रासलाई नियन्त्रण गर्न यो अपरेसन गरिएको हो ।”
प्रहरीको व्यापक परिचालन, विभिन्न युनिटको सहभागिता
यस अपरेसनमा वडा प्रहरी कार्यालय बैदाम, रामबजार, बगर र इलाका प्रहरी कार्यालय शिशुवासहित विभिन्न इकाइहरू सक्रिय रूपमा परिचालन गरिएको थियो । लेकसाइड, रामबजार, काहुँडाँडा, लम्भीडाँडा र दोबिल्लासम्म फैलिएको अभियानले शहरभर सुरक्षा घेरा कडा बनाएको देखिन्थ्यो ।
रातभर सडकमा प्रहरी भ्यान, चेकपोस्ट र आकस्मिक सोधपुछले स्थानीय बासिन्दा र पर्यटकसमेत प्रभावित भएका थिए । केही स्थानमा मानिसहरूलाई आकस्मिक रूपमा नियन्त्रणमा लिएर सोधपुछ गरिएको थियो भने केहीलाई तत्कालै रिहा गरिएको प्रहरीले जनाएको छ ।
पर्यटन क्षेत्रमा असर र भविष्यको संकेत
पोखरा नेपालको प्रमुख पर्यटन केन्द्र भएकाले यस्ता व्यापक प्रहरी कारबाहीले सुरक्षा सन्देशसँगै पर्यटन गतिविधिमा समेत प्रभाव पार्ने अनुमान गरिएको छ । तर प्रहरी प्रशासनले भने सुरक्षित वातावरण बिना पर्यटन दिगो हुन नसक्ने तर्क गर्दै यस्ता अपरेसन निरन्तर हुने संकेत दिएको छ ।
एसपी कार्कीले अन्त्यमा भने, “पोखरालाई सुरक्षित, व्यवस्थित र अपराधमुक्त बनाउन प्रहरी कुनै पनि सम्झौता गर्दैन । नागरिकको साथ र सहयोग बिना यो सम्भव छैन।”

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles