महिला संघद्वारा पर्साका मसिहानीमा स्वास्थ्य तथा भिआईए स्क्रिनिङ शिविर कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल महिला संघ पर्सा जिल्लाले आज आइतवार पर्सा जिल्लाको जगरनाथ गाउँपालिका–५ मसिहानीमा निःशुल्क स्वास्थ्य शिविर तथा भिआईए (VIA) स्क्रिनिङ शिविर सम्पन्न गरेको छ।
नेपाल महिला संघ जिल्ला कार्य समिति पर्साको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा महिलाको स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सेवा प्रदान गरिएको थियो। शिविरमा विशेषगरी महिलाहरूलाई लक्षित गरी पाठेघरको मुखको क्यान्सर पहिचानका लागि भिआईए परीक्षण तथा सामान्य स्वास्थ्य जाँच गरिएको थियो।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा रमेश रिजालको उपस्थिति रहेको थियो भने नेपाल महिला संघकी अध्यक्ष किरण शर्मा, जगरनाथ गाउँपालिकाकी उपाध्यक्ष बबिता देवी, नेपाली कांग्रेसकी नेतृ आशा देवी चौहान, नारायणी अस्पतालकी चिकित्सक डा. मञ्जु राई, स्थानीय स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी चन्द्रमोहन मिश्र, निभा सिंह, निर्मला रिसाल, ज्योति रौनियार, पुष्पा कुशवाहा तथा वडा अध्यक्ष विहारी महतो नुनिया लगायतको उपस्थिति रहेको थियो।
शिविरमा करिब ५० जना स्थानीय महिलाहरूले स्वास्थ्य सेवा लिएका थिए। स्वास्थ्य परीक्षणका क्रममा चार जनामा संक्रमण देखिएको र उनीहरूको आवश्यक उपचार सुरु भइसकेको आयोजकले जानकारी दिएका छन् ।


