Thursday, February 26, 2026

लागूऔषध तस्करीको ट्रान्जिट हब बन्दै नेपालगञज बाँके:-

ताजा / भरखरै प्राप्त

खुला सीमा, अन्तर्राष्ट्रिय सञ्जाल, सुरक्षाकर्मीको मिलेमतो र समाजको मौनताले कसरी जरो गाड्दैछ लागूऔषध कारोबार
बलराम पोखरेल नेपालगन्ज। बाँकेको सदरमुकाम नेपालगन्ज आज केवल पश्चिम नेपालको व्यापारिक र यातायातिक केन्द्र मात्र होइन, यो शहर बिस्तारै लागूऔषध तस्करीको प्रमुख ट्रान्जिट हब को रूपमा परिचित हुँदै गएको छ। भारतसँग जोडिएको खुला सीमा, सीमावर्ती क्षेत्रमा कमजोर निगरानी, अन्तर्राष्ट्रिय लागूऔषध माफियाको सक्रियता र कतिपय अवस्थामा सुरक्षाकर्मी तथा सरकारी संयन्त्रसँगको मिलेमतोका कारण नेपालगन्ज लागूऔषध कारोबारको सुरक्षित मार्ग बन्दै गएको हो। नेपालबाट गांजा भारत तस्करी हुने र भारतबाट ब्राउन सुगर, अफिम, ट्रामाडोल, नाइट्राभेट, स्पास्मो–प्रोक्सिभन, कोरेक्स सिरप लगायतका लागूऔषध अवैध रूपमा नेपाल भित्रिने क्रम निरन्तर चलिरहेको छ। प्रहरी प्रशासनले पटक–पटक ‘लागूऔषध नियन्त्रण अभियान’ सञ्चालन गरिरहेको दाबी गरे पनि कारोबारको सञ्जाल भने अझै मजबुत हुँदै गएको देखिन्छ।

अपराधीका लागि अवसर, राज्यका लागि चुनौती नेपाल–भारत खुला सीमा ऐतिहासिक, सामाजिक र सांस्कृतिक सम्बन्धका दृष्टिले महत्त्वपूर्ण मानिन्छ। तर यही खुलापन आज लागूऔषध तस्करहरूको सबैभन्दा ठूलो हतियार बनेको छ। बाँके जिल्लाका जमुनाहा–रुपैडिहा नाका, नरैनापुर, होलिया, खजुरा र जानकी गाउँपालिकाका सीमावर्ती क्षेत्र लागूऔषध तस्करीका लागि अत्यन्त संवेदनशील क्षेत्र मानिन्छन्।यी नाकामा दैनिक हजारौं मानिसको आवतजावत हुने भएकाले लागूऔषध बोकेका कुरीयरहरू सर्वसाधारणकै भीडमा मिसिएर सजिलै सीमा पार गर्छन्। कतिपय अवस्थामा महिलाहरू, वृद्धहरू, बालबालिका र गरिब मजदुरलाई प्रयोग गरिन्छ, जसले गर्दा सुरक्षाकर्मीको शंका छल्न तस्करहरू सफल हुन्छन्।
स्थानीयवासीहरूका अनुसार कतिपय कच्ची बाटो, खेतबारी र नदी किनारका वैकल्पिक मार्गहरू तस्करीका लागि प्रयोग गरिन्छ, जहाँ न त नियमित गस्ती छ, न प्रविधियुक्त निगरानी।

बाँके, बर्दिया, दाङ, रोल्पा, रुकुम लगायतका पहाडी तथा तराईका जिल्लामा उत्पादन हुने गांजा भारतको ठूलो बजारसम्म पुग्ने गरेको छ। स्थानीय स्तरमा सस्तोमा खरिद गरिएको गांजा बिचौलियामार्फत नेपालगन्ज ल्याइन्छ र त्यहाँबाट भारतीय तस्कर समूहको जिम्मा लगाइन्छ।एक पूर्व लागूऔषध कारोबारी (नाम गोप्य) भन्छन्,“गांजा सानो–सानो परिमाणमा बोकेर भारत पु¥याइन्छ। एक पटक समातिए पनि अर्को दिन नयाँ मान्छे तयार हुन्छ।”यस कारोबारमा स्थानीय युवा, बेरोजगार र आर्थिक रूपमा कमजोर वर्ग बढी प्रयोगमा पर्ने गरेका छन्।

ब्राउन सुगर र औषधिजन्य लागूऔषधको बाढी भारतका लखनउ, बहराइच, गोरखपुर, रुपैडिहा जस्ता सहरहरूबाट ब्राउन सुगर र औषधिजन्य लागूऔषध नेपाल भित्रिन्छ । सीमावर्ती मेडिकल स्टोरबाट सजिलै पाइने प्रतिबन्धित औषधि ठूलो परिमाणमा नेपालगन्ज भित्र्याइन्छ।नेपाल भित्रिएका लागूऔषध नेपालगन्जमै खपत मात्र हुँदैनन्, ती काठमाडौं, पोखरा, चितवन, बुटवल हुँदै तेस्रो मुलुकसम्म तस्करी हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ। यसले नेपालगन्जलाई अन्तर्राष्ट्रिय लागूऔषध सञ्जालको महत्वपूर्ण कडी बनाएको छ।

लागूऔषध तस्करी अब व्यक्तिगत वा सानो समूहको अपराध मात्र रहेन। प्रहरी स्रोतका अनुसार यसमा अन्तर्राष्ट्रिय संगठित गिरोह सक्रिय छन्, जसको जाल भारत, नेपाल हुँदै पाकिस्तान र अफगानिस्तानसम्म फैलिएको छ।
यी गिरोहहरूले कुरीयर व्यवस्थापन , रकम असुली , सुरक्षाकर्मी र राजनीतिक पहुँच , कानुनी झन्झट मिलाउने ‘सेटिङ’ सबै कुरा योजनाबद्ध रूपमा सञ्चालन गर्छन्।

प्रहरीको अभियान बाँके प्रहरीले पछिल्ला केही वर्षमा दर्जनौं लागूऔषध मुद्दा दर्ता गरेको तथ्यांक सार्वजनिक गरेको छ। सयौं ग्राम ब्राउन सुगर, हजारौं चक्की प्रतिबन्धित औषधि, लिटरौं कोरेक्स सिरप र किलोका दरले गांजा बरामद गरिएको दाबी गरिन्छ।तर यही अवधिमा प्रयोगकर्ता र कारोबारीको संख्या घट्नुको सट्टा बढिरहेको छ। यसले प्रहरी अभियानको प्रभावकारितामाथि प्रश्न उठाएको छ।
स्थानीय अधिकारकर्मी भन्छन्,“प्रहरीले साना कुरीयर र प्रयोगकर्तालाई मात्र समात्छ। ठूला खेलाडी कहिल्यै सार्वजनिक हुँदैनन्।” लागूऔषध तस्करी रोक्न नसकिनुको सबैभन्दा विवादास्पद कारण हो , कतिपय सुरक्षाकर्मी र सरकारी कर्मचारीको मिलेमतो।नाम नखुलाउने शर्तमा एक स्थानीय व्यापारी भन्छन्,“यहाँ बिना ‘सेटिङ’ एक प्याकेट पनि सीमा पार हुँदैन भन्ने चर्चा आम छ।”सीमावर्ती क्षेत्रमा खटिएका केही सुरक्षाकर्मीले नजरअन्दाज, आर्थिक लाभ वा राजनीतिक दबाबका कारण तस्करीलाई मौन समर्थन गरेको आशंका स्थानीय स्तरमा बारम्बार उठ्दै आएको छ। तर छानबिन र कडा कारबाहीका उदाहरण भने दुर्लभ छन्।

भन्सार कार्यालय, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय प्रशासन र खुफिया निकाय सबै सीमावर्ती क्षेत्रमा खटिएका छन्। तर सूचना आदान–प्रदान र संयुक्त कारबाहीको अभाव स्पष्ट देखिन्छ।कतिपय चेकपोष्टहरू जनशक्ति अभाव , प्रविधिको कमी , राजनीतिक दबाबका कारण प्रभावहीन बनेका छन्।लागूऔषध कारोबार फस्टाउन समाज पनि अप्रत्यक्ष रूपमा जिम्मेवार देखिन्छ। धेरैले अपराध देखेर पनि “हाम्रो समस्या होइन” भनेर चुप लाग्ने प्रवृत्ति अपनाएका छन्।बेरोजगारी, गरिबी र छिटो पैसा कमाउने चाहनाले युवाहरू सजिलै तस्करको जालमा फसिरहेका छन्। अभिभावकहरू सन्तानको गतिविधिप्रति उदासीन छन् भने समुदाय स्तरमा सामाजिक बहिष्कारको डरले आवाज उठाइँदैन।

युवा पुस्ता ः सबैभन्दा पीडित लागूऔषध तस्करी र प्रयोगको प्रत्यक्ष असर युवा पुस्तामा देखिन थालेको छ। विद्यालय छोड्ने दर बढ्दै गएको छ, चोरी, डकैती, घरेलु हिंसा र मानसिक रोगका घटना बढिरहेका छन्।नेपालगन्जका पुनस्र्थापना केन्द्रहरू दिनानुदिन भरिँदै गएका छन्। तर उपचारपछि समाजमा पुनःस्थापना गर्ने वातावरण कमजोर भएकाले धेरै युवा पुनः लागूऔषधतर्फ फर्किने जोखिममा छन्।लागूऔषध प्रयोगले केवल प्रयोगकर्तालाई मात्र होइन, परिवार, समाज र राज्यलाई दीर्घकालीन क्षति पु¥याइरहेको छ। स्वास्थ्य उपचार खर्च, अपराध नियन्त्रण, सामाजिक विघटन र उत्पादनशील जनशक्तिको क्षतिले राज्यको आर्थिक बोझ बढिरहेको छ।

विशेषज्ञहरूका अनुसार समस्या जटिल भए पनि समाधान सम्भव छ।सीमामा प्रविधिमैत्री निगरानी (सीसीटीभी, ड्रोन), सुरक्षाकर्मीमाथि कडा आन्तरिक अनुगमन र कारबाही , ठूला तस्करको सम्पत्ति छानबिन र जफत , समुदाय–प्रहरी साझेदारी , युवाका लागि रोजगारी, खेलकुद र सचेतना कार्यक्रम ।यी कदम बिना नेपालगन्ज लागूऔषधको दलदलबाट बाहिर निस्कन सक्दैन।नेपालगन्ज आज एउटा निर्णायक मोडमा उभिएको छ।यदि अहिले नै कडा, इमानदार र समन्वित प्रयास भएन भने यो शहर लागूऔषध तस्करीको स्थायी केन्द्र बन्ने खतरा बढ्दै जानेछ।प्रश्न अझै खुला छ , राज्य, सुरक्षा संयन्त्र र समाज यो चुनौती सामना गर्न तयार छन् ? कि अर्को पुस्ता पनि यही अँध्यारो सञ्जालमा हराउँदै जानेछ?

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles