प्रहरीले केन्द्रीय विशेष कार्यदलको कपनस्थित परिसरमा विपद उद्धार सम्बन्धी नमूना अभ्यास प्रदर्शन कार्यक्रम सम्पन्न गरेको जनाइएको छ । कार्यदलका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीको कमाण्डमा रहेका प्रहरीहरुले विपद उद्धार सम्बन्धी नमूना अभ्यासहरु प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा पाँच जना आपराधिक व्यक्तिहरुले गस्तीमा रहेको सुरक्षा फौजलाई लक्षित गर्दै गोली चलाएपछि जवाफी फायर खोलेको प्रहरीले उनीहरु पाँचै जनालाई घुँडामुनि गोली हानेर नियन्त्रणमा लिएको जनाइएको छ ।

त्यसैगरी एक्कासी आगो लाग्दा कसरी आगो नियन्त्रण गर्ने र आगोमा फसेकाहरुलाई कसरी सकुशल उद्धार गरेर अस्पतालसम्म पुर्याउने भन्ने अभ्यास पनि देखाएका छन् ।आगलागीमा परेका घाइते व्यक्ति लिएर एम्बुलेन्स अस्पतालतर्फ जानासाथ अर्को घरमा केही अपहरणकारी प्रवेश गरेको दृष्य पनि देखाएको छ । समयमै सुरक्षाकर्मीले थाहा पाएपछि, उक्त घरको छतबाट आएका प्रहरीले अपहरणकारीलाई नियन्त्रणमा लिन सफल भएका छन् । त्यसैगरी प्रदर्शनका क्रममा आईए ड्रिल, प्रहरीले प्रयोग गर्ने विभिन्न हतियार खोलजोड, विपद् उद्धार सामाग्रीहरुको प्रदर्शन, होस्टेज रेस्क्यू ड्रिलको अभ्यास समेत गरिएको छन् ।

अध्यारोको समयमा वा आपतकालिन अबस्थामा आँखा नै नदेखिने बेला पनि प्रहरीले कसरी हतियार खोलजोड गरेर काम गर्न सक्छ भन्ने पनि प्रदर्शनमा देखाइएका छन् ।
आगलागीमा परेका व्यक्तिलाई १६०० डिग्रीसम्मको तापक्रमबाट पनि उद्धार गर्न सकिने किसिमको विशेष पहिरनको समेत उपलब्ध रहेको जनाउँदै उक्त पोशाकको पनि प्रदर्शन गरिएको देखाइएको छ । त्यस्तै बाढी पहिरो र भूकम्पमा परेका व्यक्तिहरुको पहिचान र उद्धारका लागि आवश्यक उपकरण र सामाग्रीहरुका बारेमा पनि जानकारी दिइएको जनाइएको छ ।

भत्केका घरभित्र कोही फसेका छन् वा छैनन् भनेर बाहिरबाटै पत्ता लगाउने मेसिनसमेत नेपाल प्रहरीसँग रहेको र सोहीको प्रयोग गरी उद्दार गरिने पनि प्रदर्शनका क्रममा जानकारी गराइए छ । कुनै पनि विपद उद्धारका लागि प्रदेश, जिल्ला र इलाका प्रहरी कार्यालय र चौकीसम्ममा पनि न्यूनतम विपद उद्धारका सामाग्रीहरु पुर्याउने पनि उपरीक्षकले जनाएका छन् ।


