वीरगंजमा कृष्ण सेन ‘इच्छुक’को २४औं स्मृति दिवस दीप
प्रज्ज्वलनसहित सम्पन्न गरि मनाइयो ।
जनपक्षीय पत्रकार, कवि तथा साहित्यकार कृष्ण सेन ‘इच्छुक’ को २४औं स्मृति दिवस वीरगंजमा दीप प्रज्ज्वलन गरी श्रद्धापूर्वक मनाइएको छ। प्रेस सेन्टर नेपाल मधेस प्रदेश र पर्सा जिल्लाको संयुक्त आयोजनामा मंगलबार वीरगंजको घण्टाघरमा स्मृति कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रममा सहभागी पत्रकार, साहित्यकार तथा नागरिक समाजका प्रतिनिधिहरूले इच्छुकको योगदानको स्मरण गर्दै उनको विचार, संघर्ष र बलिदानलाई वर्तमान पुस्ताका लागि प्रेरणाको स्रोत भएको बताएका थिए। दीप प्रज्ज्वलनसहित आयोजित कार्यक्रममा वक्ताहरूले जनपक्षीय पत्रकारिताको रक्षा र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा एकजुट हुनुपर्नेमा जोड दिएका थिए।

वि.सं. २०५९ साल जेठ ६ गते पक्राउ परेका इच्छुकलाई महेन्द्र पुलिस क्लबमा अमानवीय यातना दिइएको र जेठ १३ गते उनको मृत्यु भएको स्मरण गर्दै वक्ताहरूले घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीमाथि कारवाही हुनुपर्ने मागसमेत गरे। इच्छुक नेपाली जनपक्षीय पत्रकारिता र प्रगतिशील साहित्यका सशक्त हस्ताक्षरका रूपमा परिचित छन्।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा संयोजक के.सी. लामिछानेले इच्छुकले ४६ वर्षकै उमेरमा देश र जनताको मुक्तिका लागि आफ्नो जीवन समर्पण गरेको बताए। उनले इच्छुक कहिल्यै नझुक्ने र संघर्षबाट पछि नहट्ने व्यक्तित्व रहेको उल्लेख गर्दै उनको योगदान आजको पुस्ताका लागि मार्गदर्शक बनेको धारणा राखे।

उनले इच्छुकको हत्या प्रकरण सार्वजनिक गर्ने पत्रकार किशोर श्रेष्ठमाथि पुनः षड्यन्त्र भइरहेको आरोप लगाउँदै स्वतन्त्र पत्रकारितामाथि निरन्तर दबाब सिर्जना भइरहेको बताए।
प्रेस सेन्टर नेपाल मधेस प्रदेशका अध्यक्ष निरज पिठाकोटेले इच्छुकले ल्याउन खोजेको परिवर्तनको व्यवस्थामै उनलाई हत्या गर्ने जिम्मेवार व्यक्तिहरू सत्ता र संसदसम्म पुगेको भन्दै दुःख व्यक्त गरे। उनले घटनाको पुनःछानबिन गरी दोषीमाथि कानुनी कारवाही गर्न सरकारसँग माग गरे।
नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जारले पछिल्लो समय राज्यले पत्रकारितामाथि नियन्त्रण बढाउन खोजिरहेको टिप्पणी गर्दै यसको संगठित प्रतिवाद आवश्यक रहेको बताए। उनले इच्छुकको बलिदानलाई जनपक्षीय पत्रकारिताको सुरक्षा र सुदृढीकरणसँग जोड्नुपर्ने आवश्यकता औंल्याए।

त्यसैगरी नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले सञ्चारमाध्यमहरू विभिन्न चुनौती र संकटबाट गुज्रिरहेको वर्तमान अवस्थामा इच्छुकको विद्रोही चेतना र योगदान अझ सान्दर्भिक बनेको बताए। उनले इच्छुकको सम्झना सधैं पत्रकारिता क्षेत्रका लागि प्रेरणादायी रहने उल्लेख गरे।
कार्यक्रम शिवनाथ यादवको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रेस सेन्टर पर्साका सचिव अजित भूजेलले कार्यक्रम सञ्चालन गरेका थिए ।


