नेपाल-भारत सिमा क्षेत्रमा इलाका प्रहरी सिम्राैनगढको कडाइ भारतबाट तस्करी गरी ल्याइँदै गरेका ८८ कार्टुन कुखुराको चल्ला इलाका प्रहरी सिम्राैनगढले नियन्त्रणमा लिएर नष्ट गरेको बारा प्रहरीले जनाएको छ ।
भारतबाट तस्करी गरी ल्याइँदै गरेका ८८ कार्टुन कुखुराका चल्ला बारा प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको बारा प्रहरीले जानकारी दिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार प्रहरी चौकी कचोर्वाबाट प्रहरी बरिस्ठ नायव निरीक्षक सइ. देवबहादुर बिष्टको कमाण्डमा खटिएको गस्ती टोलीले सिम्रौनगढ नगरपालिका – ६ अमरपुर क्षेत्रमा भारतबाट अवैध रूपमा कुखुराका चल्ला ल्याइँदै गरेको सूचना पाएपछि निगरानी गरेको प्रहरी निरीक्षक कृष्णदेव प्रसाद साहले जनाएका छन् ।

प्रहरीका टोलीहरुलाई देख्नासाथ चल्ला बोकेर आएका तस्करहरूले कार्टुनहरू बाटोमै फालेर भारततर्फ फरार भएको प्रहरीले बताउँछन् । पछि बाराका प्रहरीले घटनास्थलबाट ८८ कार्टुन कुखुराका चल्ला बरामद गरेको हो ।
बरामद गरिएका चल्लाको मूल्य १ लाख ५० हजार रु रहेको प्रहरीको भनाईं रहेको छ । पशुपन्छीजन्य वस्तुको अवैध आयातले पशु स्वास्थ्य तथा जैविक सुरक्षामा जोखिम निम्त्याउन सक्ने भएकाले नियन्त्रणमा लिइएका चल्लाहरू स्थानीय तथा जनप्रतिनिधि र क्वारेन्टाइन अधिकृतको रोहवरमा नष्ट गरिएको बारा प्रहरीले बताउँछन् ।
नेपाल-भारतको सीमावर्ती क्षेत्रमा हुने अवैध कारोबार तथा तस्करी नियन्त्रण अभियानलाई तीव्र पारेको प्रहरी निरीक्षक शाहले जनाएका छन् । भारतबाट चोरीपैठारी गरी ल्याइने पशुपन्छी तथा कृषि सामग्रीले स्थानीय उत्पादन र पशु स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने भएकाले यस्ता गतिविधिविरुद्ध निगरानी थप कडा पारिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) मिनबहादुर घलेले पनि जानकारी दिएका छन् ।
बारा प्रहरीले अवैध आयात–निर्यात तथा तस्करीजन्य गतिविधिबारे सूचना भए तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सर्वसाधारणहरुलाई आग्रह पनि गरेका छ ।


