मधेश प्रदेश स्तरीय ट्राफिक व्यवस्थापन समीक्षा गोष्ठी धनुषा जिल्लाको जनकपुरधाममा सम्पन्न भएको छ ।
मधेश प्रदेशमा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाई सडक दुर्घटना न्यूनीकरण तथा सडक प्रयोगकर्ताको सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले धनुषाको जनकपुरधाममा मधेश प्रदेश स्तरीय ट्राफिक व्यवस्थापन समीक्षा गोष्ठी सम्पन्न भएको जनाइएको छ।

माननीय गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोको प्रमुख आतिथ्यतामा सम्पन्न गोष्ठीमा सडक सुरक्षा, ट्राफिक व्यवस्थापन तथा यातायात क्षेत्रका विद्यमान समस्या, चुनौती र समाधानका उपायबारे व्यापक छलफल गरिएको ट्राफिक प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
गोष्ठीबाट यातायात क्षेत्रका समस्या तथा समाधानहरूको अभिलेखीकरण गर्दै प्रतिबद्धता पत्रका आधारमा कार्ययोजना निर्माण गरी “Paper Work to Field Action” अवधारणाअनुसार प्रभावकारी कार्यान्वयन गर्ने निष्कर्ष निकालिएको छ। साथै सुरक्षित, व्यवस्थित, प्रविधिमैत्री तथा उत्तरदायी यातायात प्रणाली विकासका लागि सबै सरोकारवाला निकायहरूबीच साझा प्रतिबद्धता व्यक्त गरिएको प्रहरीले जनाएको छ।

कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, सडक तथा यातायात सम्बन्धी निकाय, सञ्चारकर्मी तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
“सुरक्षित सडक, जिम्मेवार चालक र समन्वित प्रयासमार्फत दुर्घटनारहित मधेश निर्माण हाम्रो साझा प्रतिबद्धता रहेको धनुषा प्रहरीले जनाएको छ ।


