Thursday, April 23, 2026

नेपाली कांग्रेसले पार्टीका संस्थापन नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वरप्रसाद कोइरालाको ११०औँ जन्मजयन्तीको अवसरमा आइतबारदेखि तीन दिनसम्म बीपी साहित्य महोत्सव, २०८० आयोजना गर्दैछ ।

ताजा / भरखरै प्राप्त

महोत्सवको सम्पूर्ण तयारी पूरा भएको र यही भदौ २४ गते बिहान ९ बजे कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबाट महोत्सवको उद्‍घाटन गरिने कांग्रेस पार्टी कार्यालयले जनाएको छ । महामानव बीपी कोइरालाको जन्मजयन्तीका अवसरमा कांग्रेस केन्द्रीय कार्यसमितिको आयोजना एवं नेपाली लेखक सङ्घको संयोजन एवं नेपाल सांस्कृतिक महासङ्घ, निरन्तर शनिबार र फाइनआर्टको सहयोगमा भदौ २६ गते सम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा ‘बीपी साहित्य महोत्सव’ हुन लागेको हो ।

कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २ देखि १० गतेसम्म भएको बैठकले बिपी जन्मजयन्तीका अवसरमा बिपी साहित्य महोत्सव आयोजना गर्ने निर्णय गरेको थियो । कांग्रेसले जननायक बीपी कोइरालाको जन्मदिन भदौ २४ गतेलाई हरेक वर्ष बीपी जन्मजयन्तीका रूपमा मनाउँदै आएको छ ।

राष्ट्रियता, लोकतन्त्र तथा समाजवादका क्षेत्रमा उनले पुर्‍याएको अतुलनीय योगदान नेपाली राजनीतिक इतिहासमा अजर र अमर रहेको छ । आजको राजनीतिक परिवेशमा समेत बिपी विचारको महत्व उत्तिकै सान्दर्भिक छ । विश्वेश्वरप्रसाद कोइरालाका नामले नेपाली साहित्याकाशमा पनि उनी शीर्ष स्थानमा छन् ।

तीन दिनसम्म चल्ने महोत्सवमा कविता साँझ, गजल साँझ, साङ्गीतिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी, ऐतिहासिक फोटो प्रदर्शनीलगायत कार्यक्रम हुने कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए।

पहिलो दिन बिहान ‘हाइज्याकिङ फर डेमोक्र्यासी’ वृत्तचित्र प्रदर्शन गरी सुरु हुनेछ । त्यसपछि बिपीको साहित्य सिर्जना र जीवन दर्शन विषयमा अभि सुवेदीले सम्भाषण दिनेछन् । त्यसपछि बीपीका दृष्टिमा बीपी, बीपीका आख्यानमा मनोविश्लेषण, साहित्यमा पर्यावरण, नेपालको मातृभाषा साहित्य शीर्षकका आख्यान र साहित्यमा अलग अलग सत्र सञ्चालन हुने पार्टी कार्यालयले जनाएको छ । पहिलो दिनको अन्तिममा २० कविबाट कविता साँझको आयोजना गरिने छ ।

दोस्रो दिन भदौ २५ गते बिहान वीर गणेशमान चलचित्र प्रदर्शन गरी महोत्सवको सुरुआत गरिनेछ । माक्र्स, गान्धी र बिपी, आजको लोकतान्त्रिक समाजवादको खोज विषयमा आनन्द कुमारले सम्भाषण दिने छ । त्यसपछि बिपीले नपाएका १५ वर्ष, बीपीका आख्यानमा मधेस, अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बीपी, युवा स्रष्टामा बीपी पठन शीर्षकका आख्यान र साहित्यमा प्रवचन तथा छलफल हुनेछन् । दोस्रो दिनको अन्तमा ३० जना गजलकारबाट गजल साँझको आयोजना हुने छ ।

तेस्रो दिन भदौ २६ गते बिहान तीन घुम्ती चलचित्र प्रदर्शनबाट महोत्सवको सुरुआत गरिने छ । त्यसपछि बीपीको समाजवादी परिकल्पनामा शिक्षा विषयमा केदार भक्त माथेमाले सम्भाषण दिनेछन् । त्यसपछि समावेशीमा, सामाजिक रुपान्तरण र बीपी, समय र सबाल्र्टन, बिपीका आख्यानमा नारी, परिवारले बुझेका बिपी विषयमा अलग अलग सत्र सञ्चालन हुनेछन् । तेस्रो तथा महोत्सवको अन्तिम दिनमा धन्यवाद ज्ञापन र साङ्गीतिक साँझसँगै महोत्सवको समापन गरिने पार्टी कार्यालयले जनाएको छ ।

पहिलोपटक आयोजना गर्न थालिएको यस साहित्य महोत्सवमा कांग्रेसले सहभागिताका लागि प्राज्ञिक तथा विद्वान् बुद्धिजीवी, अध्येता एवं राजनीतिका अतिरिक्त लेखन साहित्यमा रुचि राख्ने सम्पूर्णलाई अनुरोध गरेको छ ।

नेपाली कांग्रेस

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles