प्रहरी प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नवनियुक्त प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गर्नुभएको छन् । दानबहादुर कार्कीले प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा ७ जना इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुका साथै नियुक्ति पत्र पनि हस्तान्तरण गरेका छन् ।
नेपाल प्रहरीमा प्राविधिक समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त प्राविधिक प्रहरी निरीक्षक पदहरूमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न नेपाल प्रहरी प्रधान कार्यालयबाट २०८१ चैत १५ गते प्रकाशित विज्ञापन अनुसार विभिन्न मितिमा प्रकाशित अन्तिम नतिजामा विभागीयतर्फ सात जना र खुलातर्फ २७ जना गरी कुल ३४ जना प्राविधिक प्रहरी निरीक्षकहरू उत्तीर्ण भएका छन् । नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०८२ पुस ६ गतेको निर्णयले पुस ७ गतेदेखि लागू हुने गरी उनीहरुलाई प्राविधिक प्रहरी निरीक्षक पदमा नियुक्त गरेको हो ।
सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले खुलातर्फ नवनियुक्त भएका २७ जना मध्ये कार्यक्रममा उपस्थित २२ जना प्राविधिक प्रहरी निरीक्षकहरूलाई नियुक्तिपत्र समेत प्रदान गरे । दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रहरी महानिरीक्षक कार्कीले प्रहरी निरीक्षक पदको दर्जानी चिन्हबाट सुशोभित भएका प्राविधिक प्रहरी निरीक्षकहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।


