वीरगञ्ज । राष्ट्रिय भूमि आयोगका तीन जना कर्मचारी झापाको हल्दिबारीमा घुससहित पक्राउ परेका छन् ।पक्राउ पर्नेहरूमा जुम्ला जिल्लाको सिजा गाउँपालिकाका २३ वर्षीय मोहन नेपाल, दोलखा तामाकोसी गाउँपालिका ४ का २२ वर्षीय विवेक पोखरेल र कैलालीको जानकी गाउँपालिका ८ का २३ वर्षीय कमल खनाल रहेका छन् ।हल्दिबारी गाउँपालिकामा खटिएका राष्ट्रिय भूमि आयोगका ती कर्मचारीहरू पक्राउ परेको प्रहरीले जनाएको छ । आइतबार राति १० बजे जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीले उनीहरूलाई फेला पारेका थिए ।
हल्दिबारी वडा नं १ का गणेशप्रसाद पौडेलको जग्गाको मोठ कायम गर्दा ३९ हजार ६ सयको बिल काटेर ८० हजार लिएपछि घटना सार्वजनिक भएको हो। पौडेलले उनीहरुविरूद्ध जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दर्ता गराएपछि सोमवार दिउसो प्रहरीले पक्राउ गरेको हो ।ती कर्मचारीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि अदालतबाट म्याद थप गरेर अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ ।साभार।



