





पर्सा — जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा जारी कर्फ्यु आज ०८२/०९/२२ गते साँझ ६:०० बजेसम्म थप गरिएको जानकारी दिएको छ।
जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै शान्ति–सुरक्षा कायम राख्न तथा सम्भावित अप्रिय घटनालाई नियन्त्रणमा लिन कर्फ्युको अवधि विस्तार गरिएको जनाएको छ ।
कर्फ्यु अवधिभर अत्यावश्यक सेवा बाहेक सर्वसाधारणलाई आवत–जावतमा रोक लगाइएको छ।
जिल्ला प्रशासनले नागरिकहरूलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न, अफवाह नफैलाउन र शान्ति कायम गर्न सहयोग गर्न आग्रह पनि गरेको छ। सुरक्षाकर्मीहरू परिचालन गरी सुरक्षा व्यवस्था कडा बनाइएको प्रशासनको भनाइ रहेको छ ।
धार्मिक सद्भाव भड्किन नदिन स्थानीय प्रशासनले सोमबार साँझदेखि वीरगञ्जमा जारी गरेको कर्फ्यू आज मंगलबार साँझ ६ बजेसम्म लम्बिएको जनाइएको हो ।सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्म जारी गरिएको कर्फ्यू दिउँसो १ बजेसम्मका लागि लम्ब्याइएको थियो ।एक बजेसम्म जारी गरिएको कर्फ्यू पुनःथप गरी साँझ ६ बजेसम्म पुर्याइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका क्षेत्रअन्तर्गत पूर्वमा बसपार्क, नगवा, इनर्वा, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कुनै किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको छ ।धनुषामा मस्जिद तोडफोडको घटनालाई लिएर दुई समुदायले आइतबारदेखि वीरगञ्जमा लगातार प्रदर्शन गरिरहेका छन् । जसकारण वीरगञ्जमा सुरक्षा चुनौती बढेको छ ।


