पर्साका जिल्लाको सदरमुकामका वीरगञ्जको मदिना मस्जिदमा रमजानको पहिलो अशरा (पहिलो १० दिन) देखि नै नियमित रूपमा रोजा बस्ने मुस्लिम समुदायका श्रद्धालुहरू इफ्तारका लागि भेला भइरहेका छन्। प्रत्येक दिन सूर्यास्तपछि सामूहिक रूपमा इफ्तार कार्यक्रम आयोजना हुँदै आएको छ, जहाँ रोजादारहरू आपसी सद्भाव र भाईचारासहित रोजा खोल्ने गर्छन्।

यसैगरी, रमजानको अन्तिम १० दिन विशेष महत्वका साथ एतिकाफ (इ‘तिकाफ) बस्ने परम्परा अनुसार मस्जिदमा विशेष व्यवस्थासमेत गरिएको छ। मुस्लिम धर्मगुरु तथा श्रद्धालुहरू मस्जिदमै बसोबास गरी इबादत, तिलावत, जिक्र र दुआमा समय व्यतीत गरिरहेका छन्।
मस्जिद व्यवस्थापन समितिका अनुसार रमजानभर शान्ति, अनुशासन र धार्मिक मर्यादालाई ध्यानमा राखी कार्यक्रम सञ्चालन गरिएको छ। स्थानीय समाजसेवी तथा सहयोगी दाताहरूको सहकार्यमा इफ्तारका लागि आवश्यक सामग्री व्यवस्थापन गरिएको बताइएको छ।
रमजान महिना मुस्लिम समुदायका लागि आत्मशुद्धि, संयम, सहिष्णुता र दानशीलताको सन्देश दिने पवित्र अवसरका रूपमा लिइन्छ। वीरगञ्जस्थित मदिना जाने मस्जिदमा भइरहेको सामूहिक इफ्तार र एतिकाफले धार्मिक एकता र सामाजिक सद्भावलाई थप मजबुत बनाएको छ।


