प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन देशभर खटिएका सुरक्षाकर्मी र कर्मचारीमध्ये कम्तीमा १३ जनाले ड्युटीकै क्रममा ज्यान गुमाएका छन्। निर्वाचनको सुरक्षादेखि मतपत्र ढुवानीसम्मको जिम्मेवारी सम्हालिरहेका प्रहरी र कर्मचारीको मृत्युका घटनाले निर्वाचन व्यवस्थापनमै गम्भीर प्रश्न उठाएको छ भने सम्बन्धित परिवार र स्थानीय तहमा शोकको छाया छाएको छ।
सर्लाहीको पर्सा गाउँपालिका–४, जिगडवास्थित आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएका ४२ वर्षीय रघुनाथ महतो मङ्गलबार अचानक बेहोस भएका थिए। रौतहटको माधव नारायण नगरपालिका–६ घर भएका महतो सर्लाहीको बरहथवा नगरपालिका–५ स्थित आधारभूत स्वास्थ्य केन्द्र बरहथवामा सिनियर अहेबका रूपमा कार्यरत थिए। मतदानस्थलमै अस्वस्थ भएपछि सहकर्मीहरूले उनलाई तत्काल प्रादेशिक अस्पताल मलंगवामा पुर्याएका थिए। उपचारकै क्रममा उनको निधन भएको अस्पताल स्रोतले जनाएको छ। शवको पोस्टमार्टम गरिएको भए पनि मृत्युको कारण अझै खुलेको छैन।
कञ्चनपुरमा पनि यस्तै दुःखद घटना भयो। फागुन १८ गते पुनर्वास नगरपालिका–९ स्थित सीता बस्तीमा रहेको जीवनशक्ति आधारभूत मतदानस्थलमा खटिएका ३५ वर्षीय निर्वाचन प्रहरी मानसिंह राना राति खाना पकाउने क्रममा अचेत भएका थिए। उनलाई तत्काल धनगढीस्थित निसर्ग अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी हेमबहादुर शाहीले जानकारी दिए। उच्च रक्तचाप र मधुमेहबाट पीडित रानाको स्वास्थ्य अवस्था ड्युटीअघि नै कमजोर रहेको बताइएको छ।
बैतडीमा त एक महिनाको अवधिमा तीन जना निर्वाचन प्रहरीको मृत्यु भएको छ। मृत्यु हुनेमा ३८ वर्षीय राजेन्द्र प्रसाद भट्ट, ३८ वर्षीय महादेव वड र ३२ वर्षीय प्रकाश चन्द रहेका छन्। चन्द दशरथचन्द नगरपालिका–३ घर भएका थिए। निर्वाचन सुरक्षाको ड्युटी सकेर फर्किने क्रममा भिरबाट लडेर उनको ज्यान गएको प्रहरीले जनाएको छ। अन्य दुई जना भने ड्युटीकै क्रममा अचेत भएर ढलेका र उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेले बताएका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिएका ११ जना निर्वाचन प्रहरीको विभिन्न कारणले मृत्यु भएको छ। तीमध्ये अधिकांशको मृत्यु अचानक स्वास्थ्य समस्या वा दुर्घटनाका कारण भएको बताइएको छ। यसबाहेक एक जना प्रहरी सहायक निरीक्षक (असई)को पनि सवारी दुर्घटनामा ज्यान गएको छ।
फागुन १८ गते रामेछाप नगरपालिका–२ स्थित सिरुवारीमा ना.७ ख ६७६८ नम्बरको निशान गाडी दुर्घटना हुँदा असई पर्शुराम यादवको मृत्यु भएको थियो। मतदान सुरक्षासम्बन्धी ड्युटीमा खटिएका यादवको शव पोस्टमार्टमपछि गृहजिल्ला सप्तरीको रुपनी गाउँपालिका–१ पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
निर्वाचन सुरक्षाका लागि ४० दिनको अस्थायी सेवामा भर्ना भएका ११ जना निर्वाचन प्रहरीले ज्यान गुमाएको तथ्य सार्वजनिक भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार रुपन्देहीमा १ जना, बारामा २ जना, महोत्तरीमा १ जना र नवलपरासीमा १ जनाको मृत्यु भएको छ। अन्य स्थानका घटनाबारे पनि विस्तृत विवरण संकलन भइरहेको जनाइएको छ।
मकवानपुरमा फागुन १८ गते गाडीको ठक्करबाट २४ वर्षीय पवन कुमार शाहको मृत्यु भयो। रौतहट घर भएका शाह इलाका प्रहरी कार्यालय पशुपतिनगरमा खटिएका निर्वाचन प्रहरी थिए। ड्युटीकै क्रममा सडक दुर्घटनामा परेर उनको ज्यान गएको हो।
यस्तै, रामेछापमै अर्को सवारी दुर्घटनामा मतदान अधिकृत ५७ वर्षीय डोर प्रसाद घिमिरेको मृत्यु भएको छ। मन्थलीबाट मतपत्र लिएर सितलदेवी मावि सिरुवारी र रामेछाप नगरपालिका–३ स्थित वडा कार्यालय भवनतर्फ जाँदै गर्दा दुर्घटना भएको हो। मन्थली नगरपालिका–१ स्थित भैंसेश्वर बस्दै आएका घिमिरेको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।
लगातार भइरहेको मृत्युका घटनाले निर्वाचन सुरक्षामा खटिने जनशक्तिको स्वास्थ्य अवस्था, कार्यसमय, जोखिम व्यवस्थापन तथा यातायात सुरक्षामाथि प्रश्न उठाएको छ। उच्च रक्तचाप, मधुमेहजस्ता दीर्घरोग भएका कर्मचारीलाई जोखिमपूर्ण र अत्यधिक दबाबयुक्त ड्युटीमा खटाउँदा पर्याप्त स्वास्थ्य परीक्षण र निगरानी गरिएको थियो कि थिएन भन्ने विषयमा पनि बहस सुरु भएको छ।
निर्वाचन आयोग र गृह मन्त्रालयले भने घटनाप्रति दुःख व्यक्त गर्दै आवश्यक छानबिन र राहतको प्रक्रिया अघि बढाइएको जनाएका छन्। मृतकका परिवारलाई प्रचलित कानुनअनुसार क्षतिपूर्ति र सुविधा उपलब्ध गराइने आश्वासन दिइएको छ।
शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउने जिम्मेवारी बोकेका सुरक्षाकर्मी र कर्मचारीले ड्युटीकै क्रममा ज्यान गुमाउनु राज्यका लागि गम्भीर चिन्ताको विषय बनेको छ। निर्वाचन लोकतन्त्रको उत्सव मानिए पनि यसपालि त्यो उत्सव धेरै परिवारका लागि जीवनकै सबैभन्दा ठूलो पीडामा परिणत भएको छ।सभार।


