चितवन जिल्लाको, नेपालमा साहसिक पर्यटन प्रवर्द्धनका लागि २४ औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज–२०२६ र ५० औँ अन्तर्राष्ट्रिय राफ्टिङ तथा कायाकिङ महोत्सव त्रिशूली नदीमा मंगलबारदेखि सुरु भएको जनाइएको छ ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालसहित भारत र इजरायलका खेलाडी सहभागी छन् । पहिलो दिन कायाक र राफ्ट स्प्रिन्ट (३०० मिटर) आयोजना भएको थियो भने बुधबार क्रस र म्यान्डेटरी प्रतिस्पर्धा हुनेछ।

अन्तिम दिन १० किलोमिटरको राफ्ट रेस हुनेछ, जसमा १३ टोली प्रतिस्पर्धामा उत्रनेछन्। नेपाल पर्यटन बोर्ड र नेपाल एशोसिएसन अफ राफ्टिङ एजेन्सिजको आयोजनामा भएको महोत्सवले नेपालका नदीहरूलाई विश्व साहसिक पर्यटन बजारमा उजागर गर्ने विश्वास व्यक्त गरिएको छ। विजेताहरूलाई नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। समापन समारोहमा हिमालय रिभर एक्सप्लोरेसनलाई सम्मान गरिने कार्यक्रम रहेको छ।


