चैत ६ र ७ गते यी स्थानमा चल्नसक्छ हावाहुरी, बतास पानी पर्ने भएकाले सतर्क रहन प्राधिकरणको आग्रह गरेको जनाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न भागमा चैत ६ र ७ गते (शुक्रबार र शनिबार) वर्षासहित तीव्र हावाहुरी चल्न सक्ने सम्भावना रहेको भन्दै नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागको आगामी तीन दिनको मौसम पूर्वानुमानअनुसार चैत ६ गते दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा र हिमपात हुने सम्भावना रहेको जनाएको छ।
त्यसैगरी, शुक्रबारदेखि लुम्बिनी प्रदेशअन्तर्गत दाङ र नेपालगन्ज आसपासका तराई क्षेत्रका जिल्लाहरूमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको बताइएको छ। शनिबार भने पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा करिब ११९ किलोमिटर प्रतिघण्टा गतिसम्मको हावाहुरी चल्न सक्ने अनुमान गरिएको बताउँछन् ।
यस्ता हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना र घरका छाना उड्ने, साथै विद्युत तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहने प्राधिकरणले जनाएका छन् ।
पछिल्ला दिनहरूमा हावाहुरीका घटनाबाट मानवीय क्षति समेत भएको उल्लेख गरिएको जनाएको छ।
प्राधिकरणले नागरिकलाई अत्यावश्यक काम बाहेक यात्रा नगर्न, हावाहुरीका बेला घरभित्र सुरक्षित रहन, झ्यालढोका मजबुत रूपमा बन्द गर्न तथा आगोका स्रोतहरू बन्द गर्न सुझाव दिएको जनाइएको छ । सवारी चलाइरहेका अवस्थामा सुरक्षित स्थानमा रोकिन र भीडभाडमा नआत्तिइ सावधानीपूर्वक सुरक्षित स्थानतर्फ जान पनि आग्रह गरिएको छ।
त्यसैगरी, हावाहुरीका बेला ठुलो रुख, कमजोर संरचना, बिजुलीका खम्बा तथा तारमुनि नबस्न, लत्रिएका तार नछुन तथा विद्युतीय उपकरण प्रयोग नगर्न पनि सचेत गराइएको जनाएको छ।
जल तथा मौसम विज्ञान विभाग र प्राधिकरणबाट जारी हुने मौसमसम्बन्धी सूचना नियमित रूपमा अवलोकन गर्दै आवश्यक सतर्कता अपनाउन सबै नागरिकलाई अनुरोध गरिएको सबैमा जानकारी गराइएको छ।


