सरकारी सूचना र विज्ञापनसम्बन्धी विभेदकारी र स्वेच्छाचारी सरकारी निर्णय खारेजी र प्रेसको संवैधानिक हकको रक्षाका लागि मिति २०८३/०२/२९ गते, बिहान ११ बजेदेखि १२ बजेसम्म जिल्ला प्रशासन कार्यालय, पर्सामा नेपाल पत्रकार महासंघ, पर्साको आह्वानमा गरिएको धर्ना कार्यक्रम गरिएको छ ।
सरकारी निर्णयविरुद्ध पत्रकारहरूको धर्ना, प्रेस स्वतन्त्रताको पक्षमा ऐक्यबद्धता ।

आज, मिति २०८३ साल जेठ २९ गते शुक्रबार बिहान ११ बजेदेखि १२ बजेसम्म सञ्चालन भएको उक्त धर्ना कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालको नेतृत्वमा पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा शाखा सचिव विजय चौहान, पत्रकार श्याम बनजारा, श्रीराम रायमाझी लगायत विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकार तथा सञ्चारकर्मीहरू सहभागी भएका थिए । धर्ना कार्यक्रममा सहभागीहरूले सरकारी सूचना र विज्ञापन वितरणमा निष्पक्षता, पारदर्शिता तथा समान व्यवहार सुनिश्चित गर्नुपर्ने माग राख्दै प्रेस स्वतन्त्रतामाथि कुनै पनि प्रकारको अंकुश स्वीकार्य नहुने बताएका थिए। उनीहरूले संविधानद्वारा प्रदत्त अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक तथा स्वतन्त्र पत्रकारिताको सम्मान गर्न सरकारसँग आग्रह गरेका छन्।

कार्यक्रममा वक्ताहरूले सरकारी निकायबाट सञ्चारमाध्यममाथि गरिने विभेदपूर्ण व्यवहारले लोकतान्त्रिक मूल्य–मान्यता र स्वतन्त्र प्रेसको मर्ममाथि आघात पुग्ने उल्लेख गर्दै यस्ता निर्णय तत्काल सच्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए । नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता, पत्रकारहरूको पेशागत अधिकार तथा सञ्चारमाध्यमप्रतिको समान व्यवहार सुनिश्चित नभएसम्म आफ्नो आन्दोलनलाई निरन्तरता दिने जनाएको छ।


