Wednesday, May 13, 2026

मेन रोड विस्तारविरुद्ध घरधनीहरूको मानव साङ्लोडोजर आतंक’बन्द गर्न माग:-

ताजा / भरखरै प्राप्त

पर्साका वीरगञ्जको मुख्य सडक विस्तार कार्यको विरोधमा प्रभावित घरधनी तथा व्यवसायीहरूले आज मानव साङ्लो बनाएर प्रदर्शन गरेका छन् । सडक विस्तारका नाममा आफूहरूको घर तथा व्यवसाय जबरजस्ती भत्काउन खोजिएको आरोप लगाउँदै स्थानीयवासीहरू सडक किनारमा उभिएर शान्तिपूर्ण विरोधमा उत्रिएका हुन्।

प्रदर्शनमा सहभागी घरधनीहरूले आफ्नो घर अगाडि मानव साङ्लो बनाएर “डोजर आतंक बन्द गर”, “उचित मुआब्जा देऊ”, “जनताको अधिकारको सम्मान गर” लगायतका नाराबाजी गरेका थिए। महिलाहरू, ज्येष्ठ नागरिक, युवा तथा व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको उक्त प्रदर्शनमा प्रभावितहरूले विकासका नाममा नागरिकमाथि अन्याय गर्न नहुने बताएका छन्।

स्थानीयवासीहरूको भनाइ अनुसार कुनै स्पष्ट मापदण्ड, पर्याप्त छलफल तथा वैकल्पिक व्यवस्थाबिनै संरचना हटाउने प्रक्रिया अघि बढाइएको छ। यसले वर्षौँदेखि बसोबास गर्दै आएका परिवार तथा व्यवसायीहरूलाई ठूलो मानसिक तथा आर्थिक समस्यामा पारेको उनीहरूको गुनासो छ।

प्रदर्शनका क्रममा सहभागीहरूले आफूहरू विकास विरोधी नभएको स्पष्ट पार्दै योजनाबद्ध, पारदर्शी र न्यायपूर्ण ढङ्गले सडक विस्तार गरिनुपर्ने माग गरेका छन्। “विकास आवश्यक छ, तर नागरिकको भावना, सम्पत्ति र जीवनयापनमाथि अन्याय गरेर गरिने विकास स्वीकार्य हुँदैन,” एक स्थानीयले बताए।

प्रभावितहरूले सम्बन्धित निकायसँग पटक–पटक संवादको प्रयास गरे पनि आफ्ना मागप्रति बेवास्ता गरिएको आरोप लगाएका छन्। उचित मुआब्जा, पुनःस्थापना तथा स्पष्ट योजना सार्वजनिक नगरी डोजर परिचालन गर्न खोजिएको भन्दै उनीहरूले आपत्ति जनाएका छन्।

मानव साङ्लो कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो। प्रदर्शनकारीहरूले जबरजस्ती घर भत्काउने कार्य तत्काल रोक्न तथा सरोकारवाला पक्षबीच वार्तामार्फत समाधान खोज्न माग गरेका छन्। साथै, माग सम्बोधन नभएसम्म आन्दोलनलाई थप सशक्त बनाइने चेतावनीसमेत दिएका छन्।

यसअघि वीरगञ्ज महानगरपालिकाले मुख्य सडक क्षेत्रभित्र पर्ने संरचना हटाउन सूचना जारी गरेको थियो। त्यसयता प्रभावित क्षेत्रका बासिन्दाहरू निरन्तर आन्दोलनमा उत्रिँदै आएका छन्। स्थानीयवासीहरूले विकास र जनअधिकारबीच सन्तुलन कायम गर्दै न्यायोचित समाधान निकाल्न सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles