पर्सा जिल्लाका वीरगन्ज महानगरपालिका वडा नं. २४ रामगढवा स्थित बजरंग हल नजिक आज बिहान पानीको विषयलाई लिएर भएको विवादका क्रममा दुई जना महिलामाथि निर्घात कुटपिट गरिएको छ। कुटपिटबाट दुवै महिला गम्भीर घाइते भएका छन्।
घाइते हुनेहरूमा स्थानीय बिन्दा देवी चौरसिया र बहुदरमाई -८ निवासी फुला कुमारी रहेका छन्। प्राप्त जानकारी अनुसार बिन्दा देवी चौरसियाको टाउकोमा गम्भीर चोट लागी ५ वटा टाँका लगाइएको छ भने फुला कुमारीको टाउकोमा ७ वटा टाँका लगाइएको बताइएको छ। दुवै घाइतेको उपचार नारायणी अस्पतालमा भइरहेको प्रहरीले जनाइएको छ।
स्थानीयका अनुसार बिहान पानी प्रयोग गर्ने विषयमा सामान्य भनाभन सुरु भएको थियो। सोही क्रममा विवाद चर्किँदै जाँदा महिलामाथि कुटपिट भएको बताइएको छ। घटनापछि स्थानीय क्षेत्रमा केही समय तनावको अवस्था समेत सिर्जना भएको थियो।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँका ४४ वर्षीय रामायण पटेल, उनका २३ वर्षीय छोरा अमित पटेल तथा १८ वर्षीय राहुल पटेल रहेका छन्।
वडा प्रहरी कार्यालय श्रीपुरले तीनै जनालाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीले घटनाको वास्तविक कारण तथा संलग्नताबारे अनुसन्धान अगाडि बढाइएको पर्सा प्रहरीले जानकारी दिएको छ।


