सशस्त्र प्रहरी बल नेपालीले ठूलो परिमाणमा लागुऔषधसहित भक्तपुरबाट दुईजनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले ट्रमाडोल हाइड्रोक्लोराइड क्याप्सुल (ट्रामोल–५०) नामक लागुऔषध २१ हजार ६४ पत्ता (२ लाख १० हजार ६ सय ४० क्याप्सुल) सहित दुईजनालाई पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा जेठ १२ गते राति करीब साढे २ बजे भक्तपुरको मध्यपुर थिमी–६, कमेरेटारबाट उनीहरूलाई नियन्त्रणमा लिइएको छ ।थापाका अनुसार काभ्रे घर भई भक्तपुर कटुन्जे बस्ने ४१ वर्षीय विरध्वज तामाङलाई आवश्यक सोधपुछको लागि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनको सूचनाको आधारमा ललितपुरको गोदावरी नगरपालिका-२, विशंखुनारायण मन्दिरनजिकबाट पतकरले छोपेको अवस्थामा ६ बोरा र दुई कार्टुनमा लुकाइएको अवस्थामा लागुऔषध फेला पारेको थापाले जानकारी दिए ।उनकै सूचनाको आधारमा लागुऔषध लुकाउने अर्का व्यक्ति काभ्रेको कोसीपारी–१ घर भई ललितपुरको हरिसिद्धी बस्ने ट्याक्सी चालक ३८ वर्षीय सान्तबहादुर तामाङ र उनले चलाउने गरेको प्रदेश ०१–००२ ज ८८६३ नम्बरको ट्याक्सीसहित जेठ १८ गते सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

विरध्वजलाई जेठ १२ गते नै आवश्यक कारवाहीको लागि प्रहरी वृत्त थिमीमा बुझाइएको थापाले जानकारी दिए । त्यस्तै सोमबार नियन्त्रणमा लिइएका सान्तबहादुर तामाङलाई बरामद लागुऔषध र ट्याक्सीसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरी प्रभाग गोदावरी ललितपुरमा बुझाइएको सशस्त्रले जनाएको छ ।


