तस्करीका राैतहट जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रिजालको तस्करी विरुद्ध कडा प्रहार राैतहट प्रहरीद्वारा ९० लाखको तस्करीका समान पक्राउ ।
भारततर्फ लैजान तयारी अवस्थामा राखिएको ठूलो परिमाणको बिउ नियन्त्रणमा लिन पुगेको सुरक्षा टोलीमाथि स्थानीयहरुको अवरोध, ढुंगामुढा र त्यसपछि राैतहट प्रहरीद्वारा अश्रुग्यास प्रहार गरी तस्करीका समान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बुधबार साँझ प्राप्त विशेष सूचनाका आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली बौधिमाई नगरपालिका–७ स्थित बाडा बंकुल टोल पुगेको थियो। त्यहाँ त्रिपालले छोपेर राखिएको अवस्थामा ३२२ बोरा फर्सीको बिउ फेला परेको थियो। बरामद गरिएको बिउको तौल १२ हजार ८८० किलोग्राम रहेको छ भने यसको अनुमानित मूल्य ९० लाख १६ हजार रुपैयाँ बराबर रहेको राैतहट प्रहरीले जनाएको छ। सीमापार निकासीको तयारी ?
सुरक्षा निकायको प्रारम्भिक अनुसन्धानले उक्त बिउ भारततर्फ अवैध रूपमा निकासी गर्न तयारी अवस्थामा राखिएको संकेत गरेको छ। मधेस प्रदेशका जिल्लाहरुमा अधिकांश सीमावर्ती क्षेत्र खुला सीमासँग जोडिएकाले विभिन्न कृषि उत्पादन, खाद्यान्न, बिउबिजन तथा उपभोग्य वस्तुको अवैध ओसारपसार हुने गरेको गुनासो बेला–बेलामा उठ्ने गरेको छ।विशेषगरी कृषि बिउको बजार मूल्य बढेका बेला नेपाल र भारतबीच मूल्य अन्तरका कारण यस्ता वस्तु सीमापार लैजाने प्रयास हुने गरेको जानकारहरू बताउँछन्। फर्सीको बिउ खाद्य प्रयोजनका साथै प्रशोधन उद्योगमा समेत प्रयोग हुने भएकाले यसको व्यापारिक मूल्य उच्च मानिन्छ।
राैतह प्रहरी स्रोतका अनुसार बरामद गरिएको परिमाण हेर्दा यो कुनै व्यक्तिगत प्रयोजनका लागि संकलन गरिएको वस्तु नभई संगठित रूपमा व्यापारिक निकासीका लागि तयारी गरिएको हुन सक्ने आशंका गरिएको छ। घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ।
बरामदी रोक्न खोज्दा तनाव
सामान नियन्त्रणमा लिने क्रममा स्थिति एकाएक तनावग्रस्त बनेको थियो। प्रहरीका अनुसार केही स्थानीयवासीले बरामद प्रक्रिया रोक्न खोज्दै सुरक्षा टोलीको विरोध गरेका थिए। त्यसक्रममा प्रहरीमाथि ढुंगामुढा प्रहार भएपछि अवस्था नियन्त्रण बाहिर जाने संकेत देखिएको थियो।
स्थिति नियन्त्रणमा लिन सुरक्षा टोलीले ६ राउण्ड अश्रुग्यास प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ। झडपका क्रममा तीन जना प्रहरी र तीन जना स्थानीय घाइते भएका छन्। घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको बताइएको छ।स्थानीयवासीले किन विरोध गरे भन्ने विषयमा फरक–फरक चर्चा भए पनि सुरक्षा निकायले घटनालाई अनुसन्धानकै विषय बनाएको छ। केही स्थानीयले सामान आफ्नो भएको दाबी गरेको स्रोतहरू बताउँछन् भने केहीले प्रहरीले आवश्यक जानकारी नदिई सामान उठाउन खोजेको आरोप लगाएका छन्। यद्यपि यी दाबीहरूको आधिकारिक पुष्टि भने भइसकेको छैन।
खुला सीमाको पुरानै चुनौती
रौतहट, बारा, पर्सा, सर्लाही लगायतका जिल्लाहरू भारतसँग खुला सीमामा जोडिएका कारण तस्करी नियन्त्रण सुरक्षा निकायका लागि चुनौतीपूर्ण बन्दै आएको छ। सीमाक्षेत्रमा कृषि उत्पादन, मल, बिउ, खाद्यान्न, कपडा, इलेक्ट्रोनिक सामग्रीदेखि विभिन्न वस्तुको अवैध आयात–निकासीका घटना समय–समयमा सार्वजनिक हुँदै आएका छन्।सुरक्षा अधिकारीहरूका अनुसार तस्करहरूले प्रायः रातिको समय, ग्रामीण बाटो र स्थानीय सञ्जालको प्रयोग गर्दै सामान सीमापार गराउने प्रयास गर्छन्। कतिपय अवस्थामा सामान नियन्त्रणमा लिँदा स्थानीयको प्रतिरोध समेत सामना गर्नुपर्ने अवस्था आउने गरेको छ।
आर्थिक अपराधको नयाँ स्वरूप
पछिल्ला वर्षहरूमा सुन, चाँदी, मदिरा वा लागूऔषध मात्र होइन, कृषि बिउबिजन समेत अवैध कारोबारको माध्यम बन्न थालेको देखिएको छ। कृषि क्षेत्रमा प्रयोग हुने उन्नत जातका बिउको माग बढेसँगै यसको अवैध कारोबारबाट ठूलो रकम आर्जन गर्न सकिने भएकाले तस्करहरूको ध्यान यसतर्फ आकर्षित भएको जानकारहरूको भनाइ छ।
फर्सीको बिउ विशेष गरी खाद्य उद्योग, तेल उत्पादन तथा प्रशोधन उद्योगमा प्रयोग हुने भएकाले अन्तर्राष्ट्रिय बजारमा समेत यसको माग रहने गरेको बताइन्छ। यही कारण ठूलो परिमाणमा संकलन गरी सीमापार पठाउने प्रयास भएको हुन सक्ने अनुमान गरिएको छ।
भन्सारलाई बुझाइयो
प्रहरीले बरामद गरिएको सम्पूर्ण बिउ आवश्यक कानुनी प्रक्रिया पूरा गरी राैतहटको गाैरभन्सार कार्यालयलाई बुझाएको प्रहरीले जनाएको छ।


