Sunday, June 14, 2026

पर्सा प्रहरीद्वारा १०० किलो गाँजा बरामद,गाँजा तस्कर खोजदैँ प्रहरी

ताजा / भरखरै प्राप्त

पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नम्बर ३ स्थित मुरैयाचोक क्षेत्रबाट प्रहरीले करिब एक सय किलोग्राम लागु औषध गाँजा पर्सा प्रहरीले बरामद गरेको छ। लागूऔषध नियन्त्रण तथा सीमावर्ती क्षेत्रमा हुने अवैध कारोबार रोक्न सञ्चालन गरिएको संयुक्त सुरक्षा अभियानका क्रममा उक्त परिमाणको गाँजा फेला परेको पर्सा प्रहरीले जनाएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आइतबार सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले विशेष सूचनाको आधारमा मुरैयाचोक क्षेत्रमा खोजतलास अभियान सञ्चालन गरेको थियो। सो क्रममा खेतमा लुकाइछिपाइ राखिएको अवस्थामा पाँच वटा बोराभित्र प्याक गरिएको गाँजा फेला परेको पर्सा प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतका अनुसार बरामद गरिएको गाँजाको तौल करिब एक सय किलोग्राम रहेको छ, र गाँजा कसले त्यहाँ ल्याएर राखेको हो र यसको अन्तिम गन्तव्य कहाँ थियो भन्ने विषयमा अनुसन्धान अघि बढाइएको उनले बताएका छन् । प्रहरीका अनुसार गाँजा बरामद भएको स्थान सीमावर्ती क्षेत्रसँग जोडिएको भएकाले अवैध लागूऔषध ओसारपसारमा संलग्न समूहले सुरक्षाकर्मीको निगरानी छल्न खेत तथा सुनसान स्थानलाई अस्थायी भण्डारणस्थलका रूपमा प्रयोग गर्ने गरेको आशंका गरिएको छ। पछिल्लो समय सीमावर्ती जिल्लाहरूमा लागूऔषध कारोबार नियन्त्रणका लागि सुरक्षा निकायले निगरानी बढाएसँगै तस्करहरूले नयाँ–नयाँ तरिका अपनाउने गरेको पाइएको छ । डीएसपी बस्नेतले बरामद गाँजासम्बन्धी थप अनुसन्धान भइरहेको जानकारी दिँदै घटनामा संलग्न व्यक्तिहरूको पहिचान र पक्राउका लागि विभिन्न कोणबाट अनुसन्धान अघि बढाइएको बताए । पर्सा जिल्ला भारतसँग खुला सीमाना जोडिएको संवेदनशील क्षेत्र मानिन्छ। यही कारण अवैध लागूऔषध, चोरीपैठारी तथा तस्करीका विभिन्न गतिविधि नियन्त्रण गर्नु सुरक्षा निकायका लागि चुनौतीपूर्ण बन्दै आएको छ । सुरक्षा अधिकारीहरूका अनुसार लागूऔषध कारोबारमा संलग्न समूहले सीमावर्ती क्षेत्रको भौगोलिक अवस्थालाई प्रयोग गरेर अवैध कारोबार सञ्चालन गर्ने प्रयास गर्ने गरेका छन्। प्रहरीले पछिल्ला महिनाहरूमा लागूऔषध नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउँदै आएको जनाएको छ। विभिन्न स्थानमा छापा, नियमित चेकजाँच तथा सूचनाको आधारमा सञ्चालन गरिएका विशेष अभियानका क्रममा ठूलो परिमाणमा गाँजा, ब्राउन सुगर तथा अन्य प्रतिबन्धित पदार्थ बरामद हुने क्रम बढेको छ।
यस घटनाले पनि पर्सा जिल्लामा लागूऔषध तस्करीको जोखिम अझै कायम रहेको संकेत गरेको सुरक्षा अधिकारीहरूको भनाइ छ । प्रहरीले लागूऔषधविरुद्धको अभियानलाई निरन्तरता दिने तथा अवैध कारोबारमा संलग्न जोसुकैलाई कानुनी दायरामा ल्याइने जनाएको छ। बरामद गरिएको गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा राखिएको छ भने घटनासँग सम्बन्धित व्यक्तिहरूको खोजी कार्य तीव्र रूपमा अघि बढाइएको पर्सा प्रहरीले बताउँछन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles