Monday, June 15, 2026

प्रशासकीय अधिकृत अनुपस्थित हुँदा धोबीनी गाउँपालिकाको बैठक स्थगित

ताजा / भरखरै प्राप्त

प्रमुख प्रशासकीय अधिकृत अनुपस्थित हुँदा धोबीनी गाउँपालिकाको नीति तथा कार्यक्रम बैठक स्थगित भएको जनाइएको छ ।
राजन कुमार बानिया पर्सा १ असार धोबीनी गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम तय गर्न सोमबार बोलाइएको महत्वपूर्ण बैठक प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थितिका कारण स्थगित भएको छ। बिहान ११ बजेका लागि तय गरिएको बैठकमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, कर्मचारी, स्थानीयवासी तथा सञ्चारकर्मीहरू समयमै उपस्थित भए पनि प्रमुख प्रशासकीय अधिकृत कृष्णा प्रसाद खतिवडा उपस्थित नभएपछि कार्यक्रम अगाडि बढ्न सकेन।
गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहानले प्रमुख प्रशासकीय अधिकृत खतिवडाकी आमाको स्वास्थ्य अवस्था अचानक बिग्रिएपछि उहाँ अस्पताल जानुपरेको जानकारी प्राप्त भएको बताए । अध्यक्ष चौहानका अनुसार बिहानदेखि साँझ ५ बजेसम्म बैठक सञ्चालनको प्रयास गरिए पनि प्रमुख प्रशासकीय अधिकृतसँग सम्पर्क हुन नसकेपछि कार्यक्रम स्थगित गर्नुपरेको हो। हामी सबै आवश्यक तयारीका साथ उपस्थित थियौं। तर प्रमुख प्रशासकीय अधिकृत पारिवारिक समस्याका कारण आउन सक्नुभएन। सम्पर्क पनि हुन नसकेपछि बैठक सञ्चालन गर्न सम्भव भएन, अध्यक्ष चौहानले बताए।
बैठक स्थगित भएपछि जनप्रतिनिधिहरूले असन्तुष्टि जनाएका छन् । वडा नम्बर ३ का वडा अध्यक्ष राजकिशोर प्रसाद कुर्मीले बिहानदेखि साँझसम्म प्रतीक्षा गर्नुपर्दा आफूहरू अपमानित महसुस गरेको बताए। नौ वर्षको जनप्रतिनिधि अनुभवमा यस्तो अवस्था पहिलो पटक देख्नुपरेको उल्लेख गर्दै उनले गाउँपालिकाको प्रशासनिक व्यवस्थापनप्रति प्रश्न उठाए । नीति तथा कार्यक्रम जस्तो महत्वपूर्ण विषयका लागि सबैलाई बोलाएर दिनभर बसालियो, तर कुनै निष्कर्ष निस्किएन। यसले जनप्रतिनिधिको सम्मानमाथि नै ठेस पुगेको छ, वडा अध्यक्ष कुर्मीले प्रतिक्रिया दिए। स्थानीयवासीहरूले पनि गाउँपालिकाभित्र लामो समयदेखि जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतबीच समन्वय अभाव रहेको गुनासो गरेका छन् । उनीहरूका अनुसार यही कारण विकास निर्माणका काम, प्रशासनिक सेवा तथा अन्य गतिविधिहरू प्रभावित हुँदै आएका छन्।
महत्वपूर्ण नीति तथा कार्यक्रम तय गर्ने दिनमै बैठक स्थगित भएपछि धोबीनी गाउँपालिकाको प्रशासनिक क्षमता र कार्यसम्पादनमाथि प्रश्न उठ्न थालेको छ ।स्थानीयवासी तथा जनप्रतिनिधिहरूले भविष्यमा यस्ता घटनाको पुनरावृत्ति हुन नदिन सम्बन्धित पक्षले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने माग गरेका छन्। यस विषयमा प्रमुख प्रशासकीय अधिकृत कृष्णा प्रसाद खतिवडासँग प्रतिक्रिया लिन पटक–पटक प्रयास गरिए पनि उहाँको मोबाइल फोन स्विच अफ रहेकाले प्रतिक्रिया प्राप्त हुन सकेन । बैठक स्थगित भएसँगै अब नीति तथा कार्यक्रम कहिले प्रस्तुत गरिने भन्नेबारे गाउँपालिकाले औपचारिक रूपमा कुनै नयाँ मिति सार्वजनिक गरेको छैन। जनप्रतिनिधिहरूले भने शीघ्र बैठक बोलाई गाउँपालिकाको नियमित कामकारबाहीलाई प्रभाव पर्न नदिन आग्रह गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles