Wednesday, June 17, 2026

सडक दुर्घटना न्यूनीकरण ट्राफिक नियमबारे सचेतना कार्यक्रम पर्सामा सुरु

ताजा / भरखरै प्राप्त

बढ्दो सडक दुर्घटना न्यूनीकरण र सर्वसाधारणमा ट्राफिक नियमबारे सचेतना जगाउने उद्देश्यले आज सदरमुकाम पर्सामा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ। ट्राफिक सप्ताह २०८३ को अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको संयोजन र स्थानीय प्रशासन साथै सरोकारवालाहरूको सहभागितामा उक्त र्‍याली निकालिएको हो।
पर्सामा ट्राफिक सप्ताह सुरु, दुर्घटना रोक्न यराज्य र नागरिक एकै मोर्चामा
वीरगञ्ज । पछिल्ला वर्षहरूमा नेपालका राजमार्गदेखि शहरी सडकसम्म सवारी दुर्घटनाका घटनाले भयावह रूप लिइरहेका बेला पर्सामा सुरु भएको ‘ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम–२०८३’ ले सडक सुरक्षाप्रति नयाँ बहस र आशा जगाएको छ। मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, जिल्ला प्रहरी कार्यालय पर्सा तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगञ्जको संयुक्त आयोजनामा बुधबारदेखि सुरु भएको सप्ताहव्यापी अभियानले दुर्घटना न्यूनीकरण र ट्राफिक अनुशासन कायम गर्ने लक्ष्य लिएको छ।

असार ३ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने कार्यक्रमको उद्घाटन वीरगञ्जमा भव्य रूपमा सम्पन्न भएको हो। कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापा प्रमुख अतिथिका रूपमा सहभागी भए भने सुरक्षा निकाय, सामाजिक संस्था, विद्यालय, उद्योगी–व्यवसायी तथा नागरिक समाजका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

दुर्घटनाले बढाएको चिन्ता

नेपालमा प्रत्येक वर्ष हजारौँ सवारी दुर्घटना हुने गरेका छन् । ती दुर्घटनामा सयौँ नागरिकले ज्यान गुमाउने तथा हजारौँ घाइते हुने तथ्याङ्कले सडक सुरक्षा चुनौतीपूर्ण रहेको देखाउँछ। विशेषगरी मधेश प्रदेशका राजमार्ग र सीमावर्ती क्षेत्रहरूमा तीव्र गतिका सवारी, ओभरलोड, नियम उल्लङ्घन तथा चालकको लापरवाही दुर्घटनाका मुख्य कारणका रूपमा देखिएका छन्।वीरगञ्ज व्यापारिक तथा औद्योगिक सहर मात्र होइन, नेपाल–भारत व्यापारको प्रमुख प्रवेशद्वार पनि हो। दैनिक हजारौँ सवारीसाधन आवतजावत गर्ने यस क्षेत्रमा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। ट्रक, बस, मोटरसाइकल र इ–रिक्साको अत्यधिक चापका कारण दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ।यही अवस्थालाई मध्यनजर गर्दै ट्राफिक प्रहरी र स्थानीय प्रशासनले संयुक्त रूपमा सचेतनामूलक अभियान सञ्चालन गरेका हुन्।

घण्टाघरदेखि सडक सुरक्षाको सन्देश

कार्यक्रमअन्तर्गत आयोजित जनचेतनामूलक र्‍याली वीरगञ्जको घण्टाघरबाट सुरु भई लिंक रोड, बसपार्क, भानुचोक हुँदै पुनः घण्टाघरमा पुगेर सम्पन्न भएको थियो।
र्‍यालीमा सहभागी विद्यार्थी, स्काउटका सदस्य तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले ट्राफिक नियम पालनासम्बन्धी सन्देश बोकेका प्लेकार्ड र ब्यानर प्रदर्शन गरेका थिए। “हेल्मेट जीवनको कवच हो”, “सिटबेल्ट लगाऔँ, जीवन बचाऔँ”, “मादक पदार्थ सेवन गरी सवारी नचलाऔँ”, “गति होइन, सुरक्षा रोजौँ” जस्ता नाराले सडक सुरक्षा अभियानलाई जनस्तरसम्म पुर्‍याएको थियो।
र्‍यालीमा नेपाल स्काउटका सदस्यहरूसँगै वीरगञ्जका विभिन्न विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। उनीहरूले सडक सुरक्षाको सन्देश आमनागरिकसम्म पुर्‍याउन सक्रिय भूमिका निर्वाह गरे।

‘प्रहरी एक्लैले दुर्घटना रोक्न सक्दैन’

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटवालले सडक सुरक्षामा ट्राफिक प्रहरीको प्रयास मात्र पर्याप्त नहुने स्पष्ट पारे।उनले भने, “दुर्घटना न्यूनीकरणका लागि चालक, यात्रु, पैदलयात्री, सवारीधनी, विद्यालय, स्थानीय सरकार र सम्पूर्ण नागरिकको समान जिम्मेवारी आवश्यक छ। नियम पालना गर्ने संस्कार विकास भए अधिकांश दुर्घटना स्वतः घट्छन्।”उनका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने प्रवृत्ति अझै पनि समाजमा व्यापक छ। हेल्मेट नलगाउने, मोबाइल चलाउँदै सवारी हाँक्ने, तीव्र गति अपनाउने र जथाभावी ओभरटेक गर्ने बानी दुर्घटनाका प्रमुख कारण बनेका छन्।

किन बढिरहेका छन् दुर्घटना ?

विशेषज्ञहरूका अनुसार सडक दुर्घटनाको समस्या केवल चालकको गल्तीमा सीमित छैन। अव्यवस्थित सडक संरचना, कमजोर संकेत प्रणाली, अपर्याप्त सडक बत्ती, सडक अतिक्रमण, सवारी परीक्षणमा कमजोरी तथा कानुन कार्यान्वयनको फितलो अवस्थाले पनि दुर्घटना बढाइरहेको छ।वीरगञ्ज क्षेत्रका कतिपय सडकमा पैदलमार्गको अभाव, अव्यवस्थित पार्किङ र बजार क्षेत्रमा हुने भीडभाडले जोखिम बढाएको छ। सीमावर्ती क्षेत्रमा रातिको समयमा चल्ने मालवाहक सवारी साधनको चापले पनि दुर्घटनाको सम्भावना बढ्ने गरेको स्थानीयहरूको गुनासो छ।

विद्यालयदेखि चालकसम्म पुग्ने अभियान

आयोजकका अनुसार सप्ताहव्यापी कार्यक्रम केवल र्‍यालीमा सीमित रहने छैन। विभिन्न विद्यालय, सार्वजनिक स्थल तथा यातायात व्यवसायीहरूलाई लक्षित गरी अन्तरक्रिया, प्रशिक्षण, पर्चा वितरण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।विशेषगरी युवा पुस्तामा सडक सुरक्षासम्बन्धी चेतना विकास गर्न विद्यालयस्तरमा विशेष कार्यक्रम आयोजना गरिने भएको छ। मोटरसाइकल चालक, सार्वजनिक सवारी चालक तथा मालवाहक सवारी चालकलाई पनि लक्षित गरी नियमसम्बन्धी जानकारी प्रदान गरिनेछ।

नागरिकको व्यवहार परिवर्तन नै सफलता

सडक सुरक्षाका अभियन्ताहरूका अनुसार ट्राफिक सप्ताहको वास्तविक सफलता कार्यक्रम सम्पन्न हुनुमा होइन, नागरिकको व्यवहार परिवर्तनमा निर्भर हुन्छ।नेपालमा अधिकांश दुर्घटना मानवीय त्रुटिका कारण हुने भएकाले चालक र यात्रुको सोच परिवर्तन हुन आवश्यक रहेको उनीहरूको भनाइ छ। नियम उल्लङ्घन गरेपछि जरिवाना तिर्ने मानसिकताभन्दा नियम पालना गरेर दुर्घटना नै हुन नदिने संस्कार विकास गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।

सामूहिक प्रयासबाट मात्र सम्भव

उद्घाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरिबहादुर बस्नेत, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख बिक्रम सुबेदी, सशस्त्र प्रहरी बल नं. १३ गणका डीएसपी, नेपाल रेडक्रस सोसाइटी पर्साका अध्यक्ष बृजकिशोर पटेल, प्याब्सन पर्साका अध्यक्ष सरोजप्रसाद चौधरी, नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाईं तथा ग्रीन सिटी सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानलगायतको सहभागिता रहेको थियो।उनीहरूले सडक सुरक्षालाई सरकारी निकायको मात्र विषय नभई सामाजिक अभियानका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे।

पर्सामा सुरु भएको ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम एउटा नियमित सरकारी कार्यक्रम मात्र होइन, बढ्दो सडक दुर्घटनाविरुद्धको सामाजिक अभियान बनेको छ। यदि यस अभियानले नागरिकमा जिम्मेवारीबोध जगाउन सफल भयो भने यसले दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्छ।

सडकमा हरेक दिन गुमिरहेका अमूल्य जीवन बचाउन ट्राफिक प्रहरीको कडाइ मात्र पर्याप्त छैन; नियम पालनाप्रति नागरिकको प्रतिबद्धता, जिम्मेवार चालक संस्कृति र सामूहिक सचेतना नै यसको दीर्घकालीन समाधान हो । अन्यथा, चेतनामूलक नाराहरू सडकका पर्खालमा सीमित रहनेछन् ” र दुर्घटनाको सिलसिला यथावत् रहने खतरा कायम रहनेछ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles