Wednesday, July 1, 2026

आँप बेच्ने बहानामा ब्राउन सुगर कारोबार गर्ने गुड्डु भारतीय नागरिक पक्राउ

ताजा / भरखरै प्राप्त

पर्सा जिल्लाको वीरगञ्ज महानगरमा साइकलमा आँप बिक्री गर्ने बहानामा प्रतिबन्धित लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) को अवैध कारोबार गरिरहेको आरोपमा एक भारतीय नागरिकलाई पर्सा प्रहरीले पक्राउ गरेका छन्।


जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–१ स्थित भुतबंगला नजिक सडकको पश्चिमी पेटीबाट भारतको बिहार राज्यका ३० वर्षीय गुड्डु आलमलाई नियन्त्रणमा लिएको जनाएको छ ।
पर्सा प्रहरीका अनुसार १६ गते, साँझ करिब ६ बजे एक व्यक्तिले साइकलमा आँप बिक्री गर्ने आवरणमा लागुऔषधको अवैध कारोबार गरिरहेको सूचना प्राप्त भएपछि प्रहरीको टोली परिचालन गरिएको थियो, प्रहरीको टोलीले घटनास्थलमा पुगेर शङ्कास्पद व्यक्तिमाथि निगरानी राखी कानुनबमोजिम खानतलासी गर्दा साइकलको पछाडिको चक्कानजिक झुन्ड्याइएको प्लास्टिकको बोराभित्र लुकाइछिपाई राखिएको ब्राउन सुगर बरामद गरेको पर्सा प्रहरीले जनाएको छ ।

बरामद गरिएको लागुऔषध कालो प्लास्टिकभित्र सेतो प्लास्टिकमा बेरेर राखिएको अवस्थामा फेला परेको प्रहरीको भनाईं छ । ब्राउन सुगर जस्तो देखिने,बरामद पदार्थको कुल तौल प्लास्टिकसहित ३० ग्राम ७१० मिलिग्राम रहेको छ , भने कालो प्लास्टिक बाहेक लागुऔषधको खुद तौल २७ ग्राम २१० मिलिग्राम रहेको प्रहरीले जानकारी दिएको हो । पक्राउ परेका गुड्डु आलम भारतको बिहार राज्य, बेतिया जिल्ला, गोपालपुर थाना अन्तर्गत ग्राम पञ्चायत घोघा वडा नं. २ का स्थायी बासिन्दा रहेका छन् । उनी हाल पर्साको वीरगञ्ज महानगरपालिका–८ मा डेरा गरी बस्दै आएको बताइन्छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु कार्कीले पक्राउ परेका आलमलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान अघि बढाइएको जानकारी दिएका छन् । साथै, उक्त लागुऔषध ओसारपसार तथा कारोबारमा संलग्न अन्य व्यक्ति वा समूहको पहिचान गरी अनुसन्धान जारी रहेको पर्सा प्रहरीले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles