तनहुँ जिल्लाको आबुखैरेनीस्थित पुरानो मुग्लिङ पुलबाट त्रिशूली नदीमा हाम फाल्ने प्रयास गरेका एक युवकलाई प्रहरीले समयमै उद्धार गरेको छ।

आबुखैरेनी गाउँपालिका–४ मा रहेको पुलको लट्ठामा चढेर नदीमा हाम फाल्न खोजिरहेका ३२ वर्षीय युवकलाई इलाका प्रहरी कार्यालय आबुखैरेनी र अस्थायी प्रहरी पोस्ट पुलजिपको संयुक्त टोलीले सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी द्वारिका घिमिरेले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार ती युवक मानसिक रूपमा अस्वस्थ देखिएका छन्। उनी दाङका बासिन्दा हुन् र आफ्नो नाम कहिले ‘आशिष’ त कहिले ‘दीपक’ बताउने गरेका छन्। उनी केही समयदेखि आबुखैरेनी क्षेत्रमा ज्याला–मजदुरी गर्दै बस्दै आएको स्थानीय स्रोतले जनाएको छ । घटनाबारे थप अनुसन्धान भई रहेको इलाका प्रहरी कार्यालय आबुखैरेनीले जनाएको छ।


