पर्सा जिल्ला को बिरगञ्जस्थित प्रसिद्ध शक्तिपीठ श्री गहवामाई मन्दिरको चौथो रथयात्रा आज बिहीबार हजारौं श्रद्धालुको सहभागितामा भव्य, सभ्य र शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाइएको छ।

विगत तीन वर्षदेखि निरन्तर आयोजना हुँदै आएको रथयात्रामा यस वर्ष पनि बिहानदेखि नै बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मका हजारौं श्रद्धालु मन्दिर परिसरमा भेला भएका थिए। विशेष पूजा–आराधनापछि सुरु भएको रथयात्रा घण्टाघर, रेलवे रोडको भित्री बाइपास, छपकैया, मुख्य सडक, अस्पताल रोड, मकालु चोक, आदर्शनगर हुँदै पुनः माईस्थान मन्दिर पुगेर समापन गरिएको थियो। सम्पूर्ण मार्गभर भक्तजनहरूले जयकारा, भजन–कीर्तन तथा धार्मिक उत्साहका साथ सहभागिता जनाएका थिए । रथयात्रामा पर्साका प्रमुख जिल्ला अधिकारी, प्रतिनिधिसभा सदस्य सुशील साह कानु, युवा नेता सुधिर पटेल लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व तथा हजारौं श्रद्धालुको उपस्थिति रहेको थियो।

रथयात्रालाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी राजु कार्कीको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र ट्राफिक प्रहरीले विशेष सुरक्षा व्यवस्था मिलाएका थिए। रथयात्रा मार्गभर बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गर्नुका साथै सादा पोशाकमा समेत प्रहरी खटाइएको थियो। ट्राफिक व्यवस्थापनलाई सहज बनाउन विभिन्न स्थानमा वैकल्पिक मार्ग सञ्चालन गरिएको थियो। सुरक्षा व्यवस्थाका कारण रथयात्रा अवधिभर कुनै अप्रिय घटना नभएको जनाइएको छ।
रथयात्रा सुरु हुनुअघि वर्षा भए पनि त्यसले श्रद्धालुको आस्था र उत्साहमा कुनै असर पार्न सकेन। मुख्य सडक विस्तारका क्रममा केही स्थानमा संरचना हटाइएका कारण सामान्य असहजता देखिए पनि भक्तजनहरू उत्साहपूर्वक रथयात्रामा सहभागी बनेका थिए।

रथयात्रा सम्पन्न भएपछि आयोजक समितिका सचिव पप्पु गुप्ताले साँझ ६ बजेदेखि आयोजना हुने भव्य भजन सन्ध्यामा सहभागी भई माता गहवामाईको दर्शन गर्न तथा धार्मिक लाभ लिन सम्पूर्ण श्रद्धालुलाई आग्रह गर्नुभयो।

त्यसैगरी, विश्व ज्योतिष महासङ्घका एसिया उपसभापति डा. पुरुषोत्तम दुबेले श्रावण १ गते बिहान ६ बजेदेखि हुने ५६ भोग महापूजा तथा दिउँसो ४ बजेदेखि सुरु हुने विशाल महाप्रसाद भण्डाराको विशेष धार्मिक महत्त्व रहेको बताउनुभयो। उहाँले महाप्रसाद ग्रहण गर्नु माता गहवामाईको असीम कृपा प्राप्त गर्नु सरह हुने धार्मिक विश्वास रहेको उल्लेख गर्दै लाखौं श्रद्धालु सहभागी हुने उक्त कार्यक्रमलाई सभ्य, मर्यादित, शान्तिपूर्ण र सुव्यवस्थित बनाउन सम्पूर्ण नगरवासी, भक्तजन तथा स्वयंसेवकलाई सक्रिय सहयोग गर्न आग्रह गर्नुभयो।
आयोजक समितिका अनुसार यस वर्षको गहवामाई रथयात्रा धार्मिक आस्था, सामाजिक सद्भाव, अनुशासन र प्रभावकारी सुरक्षा व्यवस्थाको उत्कृष्ट उदाहरणका रूपमा सफलतापूर्वक सम्पन्न भएको जनाइएको छ।


