साबिक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ।रोमाञ्चक फाइनलमा १० खेलाडीमा सीमित अर्जेन्टिनामाथि १–० को कठिन जित निकाल्दै स्पेनले १६ वर्षपछि पुनः विश्व फुटबलको सर्वोच्च उपाधि आफ्नो नाममा लेखाएको हो।
अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा सम्पन्न फाइनल खेल निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरीमा सकिएको थियो। दुवै टोलीले गोल गर्ने अवसर सिर्जना गरे पनि उत्कृष्ट रक्षापङ्क्ति र गोलरक्षकको प्रदर्शनका कारण निर्धारित समयमा कुनै टोलीले अग्रता लिन सकेन।

खेल अतिरिक्त समयमा प्रवेश गरेपछि स्पेनले दबाब बढाएको थियो। त्यसको फलस्वरूप अतिरिक्त समयको १०६औँ मिनेटमा फेरान टोरेसले निर्णायक गोल गर्दै स्पेनलाई १–० को अग्रता दिलाए। त्यसपछि अर्जेन्टिनाले खेलमा फर्किने प्रयास गरे पनि स्पेनले आफ्नो अग्रता जोगाउँदै उपाधि जित्न सफल भयो।
खेलका क्रममा अर्जेन्टिना १० खेलाडीमा सीमित बनेपछि स्पेनले त्यसको फाइदा उठाउँदै खेलमा पकड जमाएको थियो। अन्तिम समयसम्म अर्जेन्टिनाले बराबरी गोलका लागि निरन्तर प्रयास गरे पनि स्पेनको सुदृढ रक्षापङ्क्ति अघि उसका प्रयास सफल हुन सकेनन्।अर्जेन्टिना लगातार दोस्रोपटक विश्वकपको उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिएको थियो। यता, सन् २०१० मा पहिलो पटक विश्वकप जितेको स्पेन १६ वर्षपछि पुनः विश्व फुटबलको शिखरमा पुग्ने लक्ष्यसहित फाइनलमा पुगेको थियो।

अर्जेन्टिना आफ्नो इतिहासमा छैटौँ पटक विश्वकपको फाइनलमा पुगेको थियो। यसअघि उसले सन् १९७८, १९८६ र २०२२ मा विश्वकपको उपाधि जितेको थियो। यद्यपि यसपटक भने स्पेनसँग पराजित हुँदै लगातार दोस्रो उपाधि जित्ने उसको सपना अधुरै रह्यो।यस जितसँगै स्पेनले दोस्रो पटक विश्वकपको उपाधि जित्दै विश्व फुटबलमा आफ्नो प्रभुत्व पुनः स्थापित गरेको छ। युरोपेली च्याम्पियन बनेको दुई वर्षपछि विश्वकप पनि जित्दै स्पेनले आफ्नो स्वर्णिम यात्रालाई थप ऐतिहासिक बनाएको छ ।नव जनप्रहार साभार।


