नेपाल–भारत सीमामा तस्करी नियन्त्रणको जिम्मेवारी पाएका सुरक्षा निकायकै केही अधिकारीमाथि तस्करसँग मिलेमतो गरेको आरोप लाग्न थालेपछि सीमाको सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ । सर्लाही र रौतहटका सीमावर्ती क्षेत्रमा सार्वजनिक भएका घटनाक्रमले संगठित तस्करी नियन्त्रणमा सुरक्षा संयन्त्रको प्रभावकारितामाथि नै प्रश्नचिन्ह खडा गरेको छ।
मधेश प्रदेशस्थित सशस्त्र प्रहरी बल नम्बर–२ छिन्नमस्ता बाहिनीले तस्करीमा संलग्न रहेको आरोपमा सर्लाहीको बीओपी छतौनामा कार्यरत सशस्त्र प्रहरी हवल्दार तिलकबहादुर पुनलाई निलम्बन गरेको छ। ड्युटीकै क्रममा भारततर्फ मदिरा बोकेको पिकअप तस्करको मिलेमतोमा पास गराएको प्रमाण भेटिएपछि उनलाई निलम्बन गरिएको स्रोतले जनाएको छ । मधेस प्रदेश छिन्नमस्ता बाहिनी महोत्तरीका सशस्त्र प्रहरी प्रमुख डीआईजी विष्णुप्रसाद भट्टले पछिल्लो समय तस्करी नियन्त्रणमा कडाइ गर्दै शंकास्पद गतिविधिमा संलग्न देखिएका प्रहरी कर्मचारीमाथि निर्मम कारबाही गर्ने नीति अपनाएका छन् ।यसअघि असार ११ गते सशस्त्र प्रहरी मुख्यालयको निर्देशनमा करिब १ करोड ९ लाख रुपैयाँ बराबरको २४९ बोरा फर्सीको बीउ तथा पाँचवटा सवारीसाधन नियन्त्रणमा लिइएको थियो। त्यस घटनापछि बीओपी मधुवनीका इन्स्पेक्टर माधव खत्री र बीओपी छतौनाका इन्स्पेक्टर मिलन कार्कीलाई तीन दिनसम्म छिन्नमस्ता बाहिनीमा तानेर सोधपुछ गरी पुनः जिम्मेवारीमा फर्काइएको थियो । यता रौतहटको बीओपी सरमुजवामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक गणेश बोहरा र एक तस्करबीच भएको संवादको अडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई पनि छानबिनका लागि छिन्नमस्ता बाहिनी तानिएको सशस्त्रको स्रोतले जनाएको छ ।
अडियो सार्वजनिक भएपछि स्थानीय तहमा निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्नुपर्ने माग तीव्र रूपमा उठ्न थालेपछि इन्स्पेक्टर बोहरालाई बाहिनीमा तानेर उनीमाथि अनुसन्धान सुरु गरिएको स्रोतको भनाइ छ।
सीमावर्ती बजारबाट व्यक्तिगत प्रयोजनका सरसामान ल्याउने सर्वसाधारणमाथि कडाइ गरेर दुःख दिने सुरक्षाकर्मी संगठित तस्करी गर्ने समूहसँग मिलेर निर्बाध रूपमा तस्करीमा सक्रिय रहेको आरोप छ । राैतहट जिल्लाको बङ्कुल, नरकटिया, रामपुरखाप, मठिया, औरैया लगायतका नाकाबाट रातिको समयमा कपडा, किराना, मदिरा, कस्मेटिक, हार्डवेयर तथा कवाडजन्य सामग्री अवैध रूपमा नेपाल भित्रिने क्रम रोकिएको छैन।
त्यसैगरी, सर्लाहीको त्रिभुवननगर, भाडसर, पर्सा, नारायणपुर, सिमरा फेनहारा, बहादुरपुर, मधुवनी र छतौना नाकाबाट पनि स्थानीय तहको ‘सेटिङ’मा तस्करी भइरहेको स्रोतको दाबी छ । सशस्त्र प्रहरी ११ नम्बर गण रौतहटले आर्थिक वर्ष २०८२/८३ मा करिब ४ करोड ५ लाख १९ हजार रुपैयाँ बराबरका अवैध सामान बरामद गरी भन्सारमा बुझाएको दाबी गरेको छ। यता रौतहट प्रहरीले पनि ५ करोड ५५ लाख १८ हजार रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएको तथ्यांक सार्वजनिक गरेको छ।
नेपाल–भारत सीमामा व्यापक तस्करी र प्रहरी आचरणविपरीतका गतिविधिबारे गुनासा बढेपछि प्रहरी प्रधान कार्यालयले असारको अन्तिम साता रौतहटका विभिन्न युनिटका इन्चार्जसहित ४८ जना प्रहरी कर्मचारीको सरुवा गरेको थियो । मधेश प्रदेशस्थित सशस्त्र प्रहरी बल नम्बर–२ छिन्नमस्ता बाहिनीले तस्करीमा संलग्न रहेको आरोपमा सर्लाहीको बीओपी छतौनामा कार्यरत सशस्त्र प्रहरी हवल्दार तिलकबहादुर पुनलाई निलम्बन गरेको छ ।
पर्सा तथा बाराका सशस्त्रका कर्मचारीलाई कारबाही गरेको सुनिएको छैन, स्थानीयहरुको भनाईं पर्साका छपकैया, अलाैं,सिरिसी, अमरपट्टि, र बाराको बलिरापुर, छतवा, मुशहर्वा नाकाबाट पनि रातिको समयमा मोटरसाइकलको माध्यमबाट तस्करी सरुरहेको स्थानीयहरुको आरोप रहेको छ ।


