श्री माध्यमिक विद्यालय पिपरिया दोस्तियामा अध्ययनरत २२ जना छात्राहरुलाई निःशुल्क साइकल वितरण गरिएको छ । आज बुधबार एक समारोहबीच नगरप्रमुख कन्थमनी प्रसाद जयसवालले विद्यार्थीहरुलाई साइकल हस्तान्तरण गरेका छन् । उनले विद्यालय टाढा भएका कारण दैनिक शिक्षामा पहुँच कठिन भएकोले छात्राहरुको पठनपाठन सहज बनाउन यो पहल गरिएको बताएको हो। “साइकलले विद्यार्थीको नियमित उपस्थिति सुनिश्चित गर्न ठूलो भूमिका खेल्नेछ,” नगरप्रमुख जयसवालले भनेका छन् । साइकल पाएका कक्षा ८ का छात्राहरु खुशी व्यक्त गर्दै नगरप्रमुखको पहलको प्रशंसा गरेका छन् ।