Sunday, July 27, 2025

देउवाको उत्तराधिकारी’बन्न कांग्रेसमा दौड धुप:-

ताजा / भरखरै प्राप्त

नेपाली कांग्रेसको १५औं महाधिवेशनमा शेरबहादुर देउवाले विधानतः नेतृत्वमा दाबी गर्न नपाउने भएपछि नेतृत्व हत्याउन नेताहरूको दौडधुप छ । जबकि कांग्रेसको महाधिवेशन कहिले हुने हो अझै यकिन छैन ।
विगतमा सभापति देउवासँगै रहेर काम गरेका मात्रै नभएर फरक मत राख्दै आएकाहरू पनि उत्तराधिकारी बन्ने दौडमा छन् । अझ देउवा निकटका पूर्वपदाधिकारीहरूले त समूह नै बनाएर आफूहरूमध्येबाट एक जनालाई भावी सभापतिमा अघि सार्न दबाब दिइरहेका छन् । तर देउवाले मुख नखोलेपछि उनीहरूमा बेचैनी बढेको छ ।
नेपाली कांग्रेसका ७ जना पूर्वपदाधिकारीले समूह नै बनाएर सभापति शेरबहादुर देउवालाई उत्तराधिकारी घोषणा गर्न दबाब दिइरहेका छन् । पूर्वउपसभापतिहरू गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, विमलेन्द्र निधिदेखि पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला र शशांक कोइरालासम्मले देउवालाई पटक पटक भेटेर भावी सभापतिको घोषणा गर्न दबाब दिएका हुन् । जबकि उहाँहरू सबै जना सभापतिको आकांक्षी हुनुहुन्छ ।
पूर्वसभापति गोपालमान श्रेष्ठ विगतदेखि नै सभापति निकट रहेर काम गर्दै आएको, वरिष्ठ नेता भएको र सबैलाई मिलाएर लैजान सक्ने भएकाले आफू नै अबको सभापति हुने दाबी गर्नुहुन्छ ।
पूर्वमहामन्त्री शशांक कोइराला सभापति देउवाले आफूलाई नै समर्थन गर्नेमा ढुक्क हुनुहुन्छ । उहाँले १४औं महाधिवेशनमा आफ्नै दाजु शेखर कोइरालाई छाडेर देउवालाई समर्थन गर्नुभएको थियो । देउवाको समर्थनमा अबको सभापति बन्ने दाउ उहाँको छ । यता, १४औं महाधिवेशनमा देउवालाई निर्णायक साथ दिएका पूर्वमहामन्त्री प्रकाशमान सिंह कांग्रेस कार्यकर्ताले आफूलाई सभापतिमा देख्न चाहेको भन्दै आउनुभएको छ ।
त्यस्तै देउवालाई नै निरन्तर साथ दिँदै आएका तर १४औं महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गरेर पनि दोस्रो चरणमा देउवालाई नै समर्थन गरेका विमलेन्द्र निधि समेत सभापति बन्ने आकांक्षा राखिरहनुभएको छ ।
पूर्वउपसभापति विजय गच्छदार भने अलमलमै हुनुहुन्छ । १४औं महाधिवेशन र २०७९ सालको आमनिर्वाचनमा समेत पराजित गच्छदार देउवाले कुनै भूमिका दिने आशमा हुनुहुन्छ । देउवाका सदावहार विश्वासपात्र मानिनुहुने प्रकाशशरण महत समेत भावी सभापतिकै आकांक्षा बोकेर हिँड्नुभएको छ । १३औं महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गरेर तेस्रो मत प्राप्त गर्दै देउवा क्याम्पमा पुगेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समेत अहिले देउवाको सदासयताको पर्खाइमा हुनुहुन्छ ।
कांग्रेसका यी सात नेतामा आफ्नै बलबुताले निर्वाचनमा लडेर जित्छु भन्ने आँट देखिएको छैन । त्यही कारण उनीहरू अहिलेदेखि नै सभापति देउवाको सदासयताको खोजीमा लागेका हुन् । जबकि उनीहरू सबै सभापतिको आकांक्षी भएकाले अन्तिम समयसम्म एक ठाउँमा रहनेमा ढुक्क हुने अवस्था छैन । देउवाले पनि कसैलाई आश्वासन दिनुभएको छैन ।
देउवाको मौनताले शेखर कोइराला, पूर्णबहादुर खड्का वा गगन थापामध्ये एकलाई आफ्नो उम्मेदवार बनाउन सक्ने आशंका उनीहरूमा छ । त्यही आशंकाले आकांक्षी ७ नेतामा बेचैनी बढाएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles