नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले प्रहरीप्रति नागरिकको ठूलो आस्था र भरोसा रहेको बताएका छन् ।मंगलबार नगरकोटस्थित प्रहरी प्रभागको नवनिर्मित भवनको उद्घाटन गर्दै आईजीपी खापुङले उक्त आस्थालाई जीवन्त राख्न प्रहरी संगठनले निरन्तर आत्ममूल्यांकन र सुधारतर्फ अघि बढ्नुपर्नेमा जोड दिए ।
‘नेपाल प्रहरीप्रति नागरिकको ठूलो आस्था र भरोसा छ,’ उनले भने, ‘त्यो भरोसालाई जीवन्त राख्न विगतका कमी कमजोरीको समीक्षा गर्दै शिष्ट आचरण र जिम्मेवार व्यवहारका साथ उत्कृष्ट सेवा दिनु आवश्यक छ ।’
उनले प्रहरी संगठन हरेक विपत्ति, दुर्घटना वा असामान्य परिस्थितिमा अग्रपंक्तिमा रही जनसेवा गर्ने संस्थाका रूपमा स्थापित भएकाले प्रहरीप्रति जनताको विश्वास स्वाभाविक रहेको बताए ।
नवनिर्मित भवनले प्रहरीमा उच्च मनोबल र परिष्कृत सेवाभाव जगाउने विश्वास व्यक्त गर्दै आईजीपी खापुङले भने, ‘प्रहरीको सेवा अझ प्रभावकारी, पारदर्शी र जनमुखी बनाउने हाम्रो लक्ष्य हो । यसले प्रहरी–नागरिक सम्बन्धलाई अझ सुमधुर र सुदृढ बनाउनेछ।’
नव जनप्रहारबाट ।


