प्रतिबन्धित लागूऔषध नेपाल भित्र्याउने क्रममा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट श्रीपुर, सुनसरीबाट खटिएको ड्युटी टोलीले पक्राउ गरेको छ । सशस्त्र प्रहरीका अनुसार आइतबार साँझ करिब ६ः४० बजे भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०२–०५१ प ८८४८ नम्बरको मोटरसाइकलमा सवार एक पुरुष र एक महिला प्रहरीको निगरानीमा परेका थिए। ड्युटीमा खटिएको टोलीलाई देख्नासाथ उनीहरूले शंकास्पद गतिविधि देखाउँदै मोटरसाइकल तीव्र गतिमा चलाएर भाग्ने प्रयास गरेका थिए।
प्रहरी टोलीले पछ्याउने क्रममा केही पर पुगेपछि मोटरसाइकल दुर्घटनाग्रस्त भएको थियो।

दुर्घटनापछि उद्धार गरी सोधपुछ गर्दा मोटरसाइकल चालकले आफू सुनसरीको धरान उपमहानगरपालिका–८ निवासी ३४ वर्षीय कुलदिप साह रहेको बताएका थिए भने पछाडि सवार महिलाले आफू झापा भद्रपुर नगरपालिका–४ घर भई हाल धरान–८ बस्दै आएकी २९ वर्षीया अनु प्रसाई रहेको परिचय दिएकी थिइन्” दुवै जनाले भाग्नुको कारणबारे स्पष्ट जवाफ नदिएपछि प्रहरीले थप खानतलासी गरेको थियो। त्यस क्रममा अनु प्रसाईले बोकेको प्लास्टिकको झोलाभित्र लुकाइराखिएको अवस्थामा ‘Triprolidine Hydrochloride & Codeine Phosphate Syrup Codbix’ लेखिएको प्रतिबन्धित लागूऔषध सिरप १० बोतल बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

त्यसैगरी, कुलदिप साहले आफ्नो मुखभित्र कालो प्लास्टिकको पोका लुकाइराखेको अवस्थामा फेला परेको थियो। उक्त पोका स्थानीय बासिन्दा तथा जनप्रतिनिधिको उपस्थितिमा खोलेर हेर्दा खैरो हेरोइन जस्तो देखिने पदार्थ भेटिएको थियो। डिजिटल तराजुमा तौल गर्दा प्लास्टिकसहित ३.०८ ग्राम र प्लास्टिकबाहेक ३.०७ ग्राम रहेको प्रहरीले जनाएको छ।
खानतलासीका क्रममा दुवै जनाको साथबाट रेड्मी कम्पनीका दुई थान मोबाइल फोनसमेत बरामद गरिएको छ। पक्राउ परेका व्यक्तिहरू, लागूऔषध, मोबाइल फोन तथा प्रयोग गरिएको मोटरसाइकल कानुनी प्रक्रिया अनुसार नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।


