दिउँसै स्कुटर चोरी गरेर फरार व्यक्ति पक्राउललितपुर महानगरपालिका–१३, एकान्तकुनास्थित यातायात कार्यालय अगाडिबाट स्कुटर चोरी गरेर फरार भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार साउन ११ गते दिउँसो करिब २ बजेको समयमा लालबहादुर तामाङको बा५६प ६३५४ नम्बरको स्कुटर चोरीमा संलग्न विजयकुमार थापालाई पक्राउ गरिएको हो ।प्रहरीका अनुसार सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका–८, कालिन्चोक घर भई हाल काठमाडौँ महानगरपालिका–१७, ठहिटी बस्दै आएका २४ वर्षीय थापाले तामाङलाई ‘तपाई शौचालय गएर आउनु, तपाईको स्कुटर म हेरिदिन्छु’ भनी स्कुटर लिएर फरार भएका थिए । स्कुटरसहित डिकीमा रहेको ब्लुबुक, नगद ३० हजार रुपैयाँ र नागरिकतासमेत चोरी भएकोबारे तामाङले दिएको निवेदनका आधारमा प्रहरीले खोजतलास गर्ने क्रममा विजय कुमार थापालाई साउन २५ गते काठमाडौँ महानगरपालिका–८, गौशालाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।थापाले चोरीको उक्त स्कुटर बेचेको प्रहरीसमक्ष बताएपछि प्रहरीले स्कुटर खरिद गर्ने सरोज शाहीलाई समेत पक्राउ गरेको छ । शाहीलाई काठमाडौँ महानगरपालिका– ३२ कोटेश्वरबाट स्कुटर र लाल बहादुर तामाङको नागरिकतासहित पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जनाएका छन् ।रेग्मीका अनुसार पक्राउ परेका दुवै जनालाई चोरी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर जावलाखेल, ललितपुरमा पठाइएको छ ।साभार।