प्रहरीले आाज बिहान रसुवाको गोसाईकुण्ड गाउँपालिका-५ स्याफ्रुबेँसीस्थित सडकबाट पैदल यात्री सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ पोखरी बस्ने वर्ष २४ को सुदीप शेर्पालाई २ किलोग्राम सुनसहित पक्राउ गरेको हो ।
शेर्पाले लगाएको कालो रंगको चेष्ट गार्डको भित्री खल्तीमा उक्त परिमाणको सुन लुकाईछिपाइ ल्याइरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । सुन २ वटा बिस्कुट आकारमा रहेको र त्यसमा मेटालोर १ किलो गोल्ड ९९९.९ आईएसओ २४०१८ लेखिएको प्रहरीको दाबी छ । बरामद सुनको बजार मूल्य १ करोड ८९ लाख ३० हजार हुने प्रहरीले जनाएकाे छ । शेर्पामाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
सुदीपले उक्त सुन आफूलाई रसुवाको गोसाइकुण्ड गाउँपालिका-२ टिमुरे बस्ने फुसाङ्वु शेर्पाले दिएको बताएपछि फुसाङलाई पनि प्रहरीले पक्राउ गरेकाे ।
यसअघि साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट हङकङ हुँदै आएका तस्करले मोटरसाइकलको ब्रेक सुमा राखेर ६० केजी सुन भित्र्याइरहेको अवस्थामा भन्सार विभागले पक्राउ गरी थप अनुसन्धानका लागि सीआईबीलाई जिम्मा दिएको थियो । अनुसन्धानका क्रममा ७ चिनियाँसहित डेढ दर्जन पक्राउ परेका छन् । उनीहरुमाथि अनुसन्धान जारी राखेको छ । मुद्दा चलाउन सीआईबीले आज जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा मिसिल बुझाउने भएको छ!
