बैतडी- बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा दार्चुलाको शैल्यशिखर नगरपालिका-२ का वडा सचिव खेमराज कपाडीको मृत्यु भएको छ। भिरबाट मोटरसाइकल खस्दा वडा सचिव कपाडीको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
बैतडी जिल्ला दोगडाकेदार गाउपालिका-५ सल्सेनाको भिरमा मोटरसाइकल खस्दा आइतबारदेखि बेपत्ता भएका कपाडीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त कार्यालय प्रमुख योगेश खत्रीले बताए। डडेल्धुराको एक कार्यालयमा तालिम दिन जान लागेका वडा सचिव कपाडी तालिममा सहभागी नभई सम्पर्कविहीन भएपछि आइतबार राती ९ बजे मात्र प्रहरीलाई खोजी सुरु गरेको थियो।
खोजी गर्दै जाँदा से ४ प ७५ नम्बरको मोटरसाइकल सडकबाट २ सय मिटर तल भिरमा भेटिएको थियो। कपडीको शव १ सय मिटर तल भेटिएको प्रहरीले जनाएको छ। निमित्त कार्यालय प्रमुख खत्रीले भने, ‘हिजोबाट हराएका कर्मचारीको शव अहिले भिरमा मोटरसाइकलसहित भेटाएका छौँ, मुचुल्काका लागि इलाका प्रहरी कार्यालय पाटनबाट टोली खटिएको छ।’कपाडीको मोटरसाइकललाई ठूलो गाडीले ठक्कर दिएको आशंका गरिएको छ। घटनाका बिषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
