ट्राफिक प्रहरी स्वास्थ्य समस्याको जोखिममा छन् : महानिरीक्षक कुँवरप्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले ट्राफिक प्रहरीहरु १४ घण्टासम्म सडकमा उभिएर ट्राफिक व्यवस्थापनमा खटिँदा स्वास्थ्य जोखिम बढेको भन्दै जनस्तरबाटै सहयोगको आवश्यकता रहेको औंल्याएका छन् ।सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह कार्यक्रमलाई आइतबार राजधानीमा सम्बोधन गर्दै कुँवरले जीवन जोखिममा राखेर काम गर्ने ट्राफिक प्रहरीलाई सर्वसाधारण जनता तथा सरोकारवालाहरुको सद्भाव र सहयोग आवश्यक रहेको जनाए ।महानिरीक्षक कुँवर भन्छन्, ‘१८ सयभन्दा बढी जनशक्ति खटाउँदा पनि दैनिक १२-१४ घण्टा ट्राफिक प्रहरी सडकमा खटिनुपरेको छ । विभिन्न समयमा गरेको अध्ययनले उनीहरुमा स्वास्थ्य समस्याको उच्च जोखिम रहेको देखाएको छ ।’सडक दुर्घटनाका कारणहरु पहिल्याउनुपर्ने र त्यसका नियन्त्रणका उपायहरुसम्म पुगे क्षति न्यूनीकरण र सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन गर्न सजिलो हुने उनको भनाइ छ ।कुँवरले प्रहरीको दुई वर्षीय कार्ययोजनामा ट्राफिक व्यवस्थापनलाई प्रविधियुक्त बनाई प्रणालीगत सुधार गर्ने लक्ष्य राखिएको जानकारी दिए ।बढ्दो सहरीकरण, जनघनत्व, पूर्वाधार निर्माणको अभाव, यातायातका साधनको तीव्र वृद्धि नै सडक दुर्घटनाको मुख्य कारण रहेको महानिरीक्षक कुँवरको भनाइ छ ।आर्थिक वर्ष ०७९/८० मा १८ लाख बढी सवारीसाधन दर्ता भएको त्यसमध्ये १४ लाख सवारीसाधन दैनिक काठमाडौं उपत्यकामा गुड्ने उनको भनाइ छ । काठमाडौं उपत्यकामा १३ सय १३ दरबन्दी रहे पनि १८ सय २२ जना जनशक्ति परिचालन गर्नुपरेको कुँवरको भनाइ छ ।