प्रमुख बीरगञ्ज भन्सार नाकाबाट सानोतिनो घरायसी सामानलाई रोकेर तस्करीमा कडाइ गरिएको ढोल पिट्ने सशस्त्र र नेपाल प्रहरीले तस्करहरूसँग मोटो रकम असुलेर लाइन खोलेको हो । जबकी रक्सौल बजारबाट घरायसी सामान किनेर ल्याउने सर्वसाधारणहरूले एक सय रूपैयाँ भन्दा बढीको सामान ल्याउँदा बीरगञ्ज भन्सार नाकामा सशस्त्र प्रहरीको तनाव खेप्नु पर्छ ।
नेपाल प्रहरीका सीमा प्रहरी चौकी तथा सशस्त्र प्रहरीको बीओपी, बेसक्याम्प लगायतका ईन्चार्जसँग लाइन मिलाएर तस्करहरूले बाराको मुसरहवा र बलिरामपुर हुँदै पर्साको भूटनदेवी मन्दिरबाट रातको समयमा लाखौंको भन्सार राजश्व छली नेपाल भित्र्याउने गरेका छन् । चर्चित तस्करहरू मुखिया र मुकेश गुप्ताले बाराको मुसरहवा र बलिरामपुरबाट दैनिक काजु, कपडा र हार्डवेयरको काम गरिरहेको बताइन्छ ।
समाचारका अनुसार दैनिक १५० देखि २०० पोका कपडा तथा काजु र हार्डवेयरका सामान यी नाकाबाट नेपाल भित्र्याएर पर्सामा जम्मा गर्ने गरिएको छ । त्यस्तै बीरगञ्ज भन्सार सेटिङमा पनि दर्जनौ तस्करहरूले काम गरिरहेको बताइएको छ । गत असार २८ गते मात्र भिस्वाको लक्ष्मी पाटी प्यालेस नजिकैबाट पिकअप (अटो रिक्सा) हुँदै आइरहेको भन्सार छलीको माल नेपाल प्रहरीको टोलीले पक्राउ गरेको थियो । तर प्रहरीले तस्करसँगको साँठगाँठमा मालसामान भन्सार बुझाएर पिकअप भने छोडेको छ । यसवापत ३ लाखको चलखेल भएको दावी समाचार स्रोतको छ । सो सामान मुखिया र मुकेश गुप्ताको रहेको दावी समाचार स्रोतको छ । त्यस्तै सुरेन्द्र कलवारले बीरगञ्ज भन्सार पछाडिको बाटो प्रयोग गरी साइकलमा कपडाको कारोवार गर्ने गरेका छन् ।
यसै गरी तस्करहरूले अहिले खसी बाख्रा व्यापक मात्रामा नेपाल भित्र्याइरहेका छन् । बिना क्वारेन्टाइन उनले हरियाणका खसी बाख्रा भारतको सीमावर्ती नाका हुँदै नेपाल भित्र्याउने गरेका छन् । उनले सिर्सिया, छपकहिय, बीओपीसँगको मिलेमतोमा सो नाकाबाट खसी बाख्रा नेपाल भित्र्याउने गरेका छन् ।
बिगतमा परासीबाट खसीको कारोवार गर्ने नौसादले त्यहाँ स्ट्रीङ अपरेशनमा परेपछि इनर्वा आएर कारोवार थालेका हुन् । सो नाकाबाट रातदिन लगाएर जम्मा पारिएको खसीबाख्रा प्रति ट्रक तीन हजारको संख्यामा लोड गरी काठमाडौं पठाउने गरेका छन् ।
बीरगञ्जमा यसरी हुन्छ तस्करी
