पर्सा, ३० भद्रौ

इन्टेलिजेन्समा काम गर्ने सई माधव थापा मगरको समेत सम्पर्क
क्रिप्टोकरेन्सी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरी दुई दिन थुनामा राखेर ५० लाख रुपैयाँ बिचौलियामार्फत असुलेर छाडिएको घटनामा विस्तृत छानबिन भइरहेको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसपी प्रजित केसीको नेतृत्वमा भइरहेको छानबिनमा यसमा काठमाडौं परिसरका हवल्दार गणेश खड्का बाहेक अन्य प्रहरी अधिकारीको समेत संलग्नता देखाएको छ ।
हवल्दार खड्कालाई प्रहरीले परिसरभित्रै राखेर अनुसन्धान गरिरहेको छ ।
उनै खड्काले क्यानडा बस्ने आशिष आचार्यलाई दुई साताअघि क्रिप्टो कारोबारको आरोपमा पक्राउ गरेका थिए ।
उनलाई दुई दिन थुनामा राखेपछि प्रमाण नभेटिएको भन्दै छाडिएको थियो ।
यस क्रममा आचार्यकी दिदीले प्रहरीलाई बुझाउन भनेर बिचौलिया तेज तामाङलाई ५० लाख रुपैयाँ बुझाएकी थिइन् ।
तर, प्रहरीले छाड्ने क्रममा ‘गुडफेथ’मा छाडिएको बताइएको थियो ।
सो विषयमा पीडितकी दिदीले प्रहरी अधिकारीलाई गुनासो गरेपछि छानबिन सुरु भएको हो ।
स्रोतका अनुसार आचार्यको विषयमा सूचना दिएर पक्राउ गराउन लगाउने व्यक्ति उनै तामाङ हुन् । हवल्दार खड्का र तामाङबीच पुरानो चिनजान थियो ।
करोडपति आचार्यलाई थुनाएर पैसा असुल्ने योजनाअनुसार नै पक्राउ गरिएको बताइन्छ ।
विस्तृत अनुसन्धान नै नगरी छाडिएकाले यस घटनामा अन्य प्रहरी अधिकारीको समेत मिलेमतोको आशंका गरिएको छ ।
स्रोतका अनुसार तामाङसँग परिसरकै इन्टेलिजेन्समा काम गर्ने सई माधव थापा मगरको समेत सम्पर्क छानबिन समितिले पत्ता लगाएको छ ।
तामाङ र उनीबीच कुराकानी भएको खुलेको छ ।
सई मगर डिएसपी प्रल्हाद कार्कीको कमाण्डमा कार्यरत छन् ।
सई मगरको मोबाइल परीक्षणका लागि प्रहरीको फरेन्सिक ल्याबमा पठाइको छ ।
पक्राउ परेका आचार्य भने क्यानडा पुगिसकेका छन् । उनी क्यानडामा क्रिप्टो कारोबारमै संलग्न देखिएको छ ।
क्रिप्टोमा जेल पर्न सक्ने डरले उनले ५० लाख रुपैयाँ बुझाएका थिए ।
पैसा लिने तामाङ भने हाल फरार रहेकाले उनीसँग सम्पर्कमा रहेका अन्य प्रहरीको विस्तृत खुल्न सकेको छैन ।
साभार ।