पर्साका बिरगंजमा चार दिन अगाडी हनुमान जन्मोत्सवको झाँकी निकाल्ने क्रममा चर्किएको विवादले हिजो मंगलबार पनि वीरगञ्जमा केहीबेर तनावको अवस्था उत्पन्न भएको छ । चार दिन अगाडी ढुंगा मुढा हान्नेहरु लाई पर्सा प्रहरी पक्राउ गरेको थियो, प्रहरीद्वारा पक्राउ परेकामध्ये दुई जना मुस्लिम समुदायको र दुई जना हिन्दु समुदायका रहेको पर्सा प्रहरीले जनाएको छ । पक्राउ परेका हिन्दु युवाहरुको रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्साका गेट अगाडीमा धर्नामा बसेका हिन्दु युवाका नेताहरू लाई पर्सा प्रहरीले लाठीचार्ज गरि भीडलाई तितरबितर पारेको थियो,
जिल्ला प्रहरी कार्यालय परिसरमा रिपोर्टिङका लागि पुगेका पत्रकारमाथि पनि प्रहरीले लाठी प्रहार गर्दा तीन जना पत्रकार घाइते भएका छन् ।
प्रहरीको लाठीप्रहारबाट एभिन्युज टेलिभिजनका सञ्चारकर्मी अर्जुन गुप्ता, मध्यनेपाल सन्देशका अनिल ओझा र चन्द्रसूर्य वाणी दैनिकका सम्पादक धीरेन्द्र तिवारीलगायतका सञ्चारकर्मी घाइते भएका छन् । नेपाल पत्रकार महासंघ पर्सा शाखालगायत सञ्चारसम्बद्ध संघसंस्थाहरूले लाठीप्रहरको घटनालाई प्रहरीको ज्यादती भएको भन्दै निन्दा गरेका छन् । उनीहरूले संलग्न सुरक्षाकर्मीमाथि कारबाहीको माग पनि गरेका छन् ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाका सचिव विजयकुमार महतोले विज्ञप्ति जारी गर्दै समाचार संकलनको क्रममा खटिएका सञ्चारकर्मीहरू ढुंगा र प्रहरीको लाठीको निशानामा पर्नु खेदजनक भएको बताएका छन् ।
चार दिनअघि हनुमान जन्मोत्सवको झाँकीमा ढुंगामुढा भएपछि वीरगञ्ज हिजो, मंगलबार साझ तनावग्रस्त बनेको थियो ।


