तराईका सीमावर्ती क्षेत्रबाट प्रहरीदेखि भन्सार एवं राजश्वसम्म लाइन बाँडेर काठमाडौं तर्फ ल्याइँदै गरेको तस्करीको सामान भक्तपुर प्रहरीले पक्राउ गरेको बताएको छ । भक्तपुर प्रहरी परिसरका एसपी माधव बुढाथोकीका अनुसार भन्सार चोरी पैठारी गरी साँगा हुँदै भक्तपुरतर्फ मालसामान ओसारपसार हुँदै छ भन्ने सूचनाका आधारमा शनिबार राति जगातीमा करिब ७२ लाख बराबरको गाडी पक्राउ गरिएको प्रहरीले बताएको हो । भक्तपुर प्रहरीले आफ्नो सामाजिक सञ्जालमा भने आइतबार २८ वैशाखको राती साढे १० बजे बा ४ ख ७६० नम्बरको टाटा ट्रकसहित तस्करीको माल बरामद गरेको प्रहरीले जनाएको छ ।
परालको भुस बोकेर सर्लाहीबाट काठमाडौं आउँदै गरेको उक्त ट्रकमा भन्सार चोरीपैठारी गरी ल्याइएका कुर्ता सुरुवाल ३८८७ थान, धाराको पाटपुर्जा ३९८, पाइन्टको कपडा ३२ रोल, सर्ट ३५६ पिस, सर्टको कपडा २८० राल , ब्लाउज १८७५ पिस, पर्दाको कपडा ९९ रोल, साडी १५९ पिस गरी करिब ७२ लाखको सामान रहेको प्रहरीले जनाएको छ । प्रहरीले आज बिदा परेकोले भोलि उक्त बरामद सामान, गाडी र ड्राइभरसहित राजश्व अनुसन्धान विभागलाई बुझाउने तयारी गरिरहेको एसपी बुढाथोकीले बताएका छन् । प्रहरीले सो सामानका धनी को हो भन्ने पत्ता लगाउने कामको अनुसन्धान भइरहेको जनाउँदै दोलखाका ४७ वर्षीय ड्राइभर लक्ष्मण थामी रहेको जानकारी दिएको छ । उक्त बरामद सामानका धनी पर्साको बीरगञ्जस्थित श्रीदुर्गा ट्रान्सपोर्टका मालिक गुप्ता रहेको दावी गरेको छ । बीरगञ्जबाटै तस्करीका सामान लोड गर्ने गरेपनि यसपटक भने रक्सौलबाट सीतामढी–सोनवर्षा हुँदै धनुषा भएर नेपाल भित्र्याइएको र सर्लाहीको लालबन्दीमा उक्त ट्रकमा लोड गरिएको स्रोतको दावी रहेको छ । गुप्तालाई सामान दिनेमा रक्सौलको रामशंकर भएको तथा सो सामान काठमाडौंको न्युरोडस्थित मसानगल्लीमा थोक कारोबार गर्ने रञ्जित गुप्ता रहेको समाचार स्रोतको भनाई रहेको छ ।


