आज महाशिवरात्रि पर्व पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको चहलपहल बढेको छ । मन्दिर परिसरमा बाबाहरूले धुनी बालेर बस्न सुरु गरेका छन्” भने पशुपतिनाथको दर्शनका लागि आएका भक्तजनको उल्लेख्य सहभागिताले यहाँको रौनकता बढाएको देखिन्छ ।

महाशिवरात्रिको पूर्वसन्ध्यामा शनिबार पशुपतिनाथ मन्दिरलगायत आसपासका क्षेत्रमा देशविदेशबाट आउने साधुसन्त तथा भक्तजनको आगमनसँगै मन्दिर आसपास क्षेत्र यतिबेला निकै व्यस्त देखिएको छ । महाशिवरात्रिका दिन कम्तीमा पनि आठ लाख दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरिएको र करिब चार हजार साधुसन्तको उपस्थिति रहने अपेक्षा गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाष जोशीले जानकारी दिएका छन् ।

उनले भने, ‘दर्शनार्थीको अत्यधिक भीड व्यवस्थापन गर्न हामीले चारवटा छुट्टाछुट्टै लाइनमार्फत दर्शनको व्यवस्था मिलाएका छौँ । सुरक्षा, स्वास्थ्य, सरसफाइ र ट्राफिक व्यवस्थापनमा विशेष ध्यान दिइएको छ ।’ दर्शनार्थीको सहजताका लागि आज बिहान ४ः०० बजेदेखि पशुपतिनाथका चारवटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । महाशिवरात्रिको दिन पशुपति क्षेत्र आसपास सवारी आवागमनमा विशेष व्यवस्थापन गरिनेछ । कोषका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र ट्राफिक प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ । भीड नियन्त्रण, हराएका व्यक्तिको खोजतलास, आपत्कालीन उद्धार तथा शङ्कास्पद गतिविधि निगरानीका लागि सिसीटिभी क्यामेरा तथा मोबाइल गस्ती बढाइएको जनाइएको छ ।

पशुपति क्षेत्रमा प्रवेश गर्ने मुख्य नाका तथा मन्दिर परिसर वरिपरि पैदलमार्गको व्यवस्था गरिनुका साथै आपत्कालीन सवारीका लागि छुट्टै मार्ग निर्धारण गरिएको कोषले जनाएको छ । दर्शनलाई सहज बनाउन चारवटा लाइन व्यवस्थापनका साथै ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा विशिष्ट अतिथिका लागि छुट्टै व्यवस्था मिलाइएको प्रवक्ता जोशीले बताएका छन् ।

उनका अनुसार खानेपानी, शौचालय, विश्रामस्थल र प्राथमिक उपचार केन्द्रहरूको सङ्ख्या बढाइएको छ । स्वास्थ्य सेवा उपलब्ध गराउन विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थासँग समन्वय गरिएको छ । कोषले स्वयंसेवक परिचालन गरी दर्शनार्थीलाई आवश्यक सूचना, सहजीकरण र मार्गनिर्देशन गर्ने व्यवस्था गरेको छ ।

माइकिङ प्रणालीमार्फत भीडको अवस्था र सुरक्षासम्बन्धी सूचना निरन्तर प्रसारण गरिन थालिएको छ ।
काठमाडौँ जिल्ला प्रहरी परिसरले महाशिवरात्रि पर्वलाई लक्षित गर्दै सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाएको जनाएको छ । दर्शनार्थी तथा उनीहरूले साथमा ल्याउने सरसामानको सुरक्षाका लागि १३ बुँदे अनुरोध जारी गरिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिएका छन् ।
काठमाडौं पशुपति क्षेत्रमा ६ हजार सुरक्षाकर्मीहरु खटिएका छन् , गृहमन्त्रीले पनि सुरक्षा अवस्थाबारे जानकारी गराएका छन् ।


