सर्लाही जिल्लाको सीमावर्ती क्षेत्रमा बढ्दो अवैध कारोबारलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल नेपाल सर्लाहीले ठूलो परिमाणमा भन्सार छलीका सामानसहित मोटरसाइकल र गाडी बरामद गरेको सशस्त्र प्रहरी सर्लाहीले जनाएको छ । विशेष सूचनाका आधारमा गरिएको अपरेशनमा करिब ३२ लाख ८३ हजार ७५० रुपैयाँ बराबरका अवैध सामानसहित दुई पिकअप गाडी र चार मोटरसाइकल नियन्त्रणमा लिइएको जनाएको छ । सशस्त्र प्रहरी सर्लाहीका अनुसार भारतबाट अवैध रूपमा भित्र्याइँदै गरेको सामान सर्लाहीको पुर्बी भेग हुँदै आन्तरिक बजारतर्फ लैजान लागिएको सूचना पाएपछि टोली परिचालन गरिएको थियो। प्रस्तावित सीमा सुरक्षा गुल्म मलंगवाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) लिला बहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले सर्लाहीको पर्सा–५ स्थित सिमानाका क्षेत्रमा निगरानी बढाएको थियो। त्यही क्रममा मोटरसाइकलमार्फत सीमापारिबाट ल्याइएका सामान दुई वटा पिकअप गाडीमा लोड गर्दै गरेको अवस्थामा फेला पारिएको सशस्त्र प्रहरीले जनाएको छ। सुरक्षाकर्मीको उपस्थिती देखेपछि संलग्न व्यक्तिहरू भने फरार भएका छन् । घटनास्थलबाट बरामद सामान र सवारी साधन नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको सशस्त्र प्रहरी सर्लाहीले जानकारी दिएको छ। बरामद सामान भारतीय फूलको रहेको छ। करिब १ हजार ७८५ केजी भारतीय फूल बरामद गरिएको छ, जसको अनुमानित बजार मूल्य ७ लाख १४ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ। खुला सीमाको फाइदा उठाउँदै भारतीय फूल नेपाली बजारमा भन्सार छली गरी ल्याउने प्रवृत्ति पछिल्लो समय बढ्दै गएको स्थानीयले बताउँछन् ।त्यसैगरी, भन्सार छलीका कपडा समेत सशस्त्रले फेला परेका छन्। ती कपडाको अनुमानित मूल्य ८ लाख ८३ हजार ७५० रुपैयाँको रहेको बताइएको छ, बजारमा प्रतिस्पर्धात्मक मूल्यमा बिक्री गरी वैध व्यवसायीलाई प्रत्यक्ष असर पुर्याउने उद्देश्यले यस्ता सामान भित्र्याइने गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। सामान ढुवानीमा प्रयोग गरिएका दुई पिकअप गाडी र चार मोटरसाइकल समेत नियन्त्रणमा लिइएको र ती सवारी साधनको संयुक्त मूल्य करिब २४ लाख रुपैयाँ बराबर रहेको अनुमान सशस्त्रले गरिएको जनाएको छ । यसरी सामान र सवारी साधन जोड्दा जम्मा बरामद मूल्य ३२ लाख ८३ हजार ७५० रुपैयाँको रहेको सशस्त्र प्रहरी सर्लाहीले बताउँछन् । सशस्त्र प्रहरीले पछिल्लो समय सर्लाहीका सीमावर्ती क्षेत्रमा निगरानी कडा बनाएको जनाएको छ। विशेषगरी चाडपर्व नजिकिँदै जाँदा फूल, कपडा, खाद्यान्न तथा अन्य उपभोग्य सामग्री भन्सार छली गरी ल्याउने गतिविधि बढ्ने भएकाले सुरक्षाकर्मीले निगरानी तीव्र पारेका छन् । सर्लाही भारतसँग जोडिएको खुला सीमाका कारण तस्करीको जोखिममा रहने जिल्ला मानिन्छ। पर्सा क्षेत्रका साना नाका र ग्रामीण मार्ग प्रयोग गरी सामान भित्र्याउने प्रयास भइरहने गरेको सुरक्षा निकायको भनाइ छ। यही अवस्थालाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले गस्ती, चेकजाँच र गोप्य सूचनाका आधारमा छापा मार्ने कार्यलाई प्राथमिकता दिएको सशस्त्र प्रहरी सर्लाहीले जनाएको छ । बरामद गरिएको सबै सामान र सवारी साधन आवश्यक कारबाहीका लागि सर्लाही भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी सर्लाहीले जनाएको छ ।


