Thursday, April 23, 2026

सर्लाही हत्या प्रकरण जागिरको लोभमा योजनाबद्ध हत्या,सर्लाही प्रहरीद्वारा तीन जना पक्राउ:-

ताजा / भरखरै प्राप्त

सर्लाही जिल्ला पूर्वाधार विकास कार्यालयमा कार्यरत ३६ वर्षीय सव–इन्जिनियर प्रमोद कुमार यादवको गोली हानी हत्या भएको घटनामा स्थायी नियुक्तिको अवसर हासिल गर्ने लोभमा योजनाबद्ध हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको सर्लाहीका प्रहरीले बताउँछन् ।

प्रहरीले मुख्य योजनाकार वैकल्पिक उम्मेदवार गणेश कुमार महतोसहित तीन जनालाई पक्राउ गरी कर्तव्य ज्यान तथा हातहतियार सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ ।

सिरहा सुखीपुर नगरपालिका–९ का स्थायी बासिन्दा तथा हाल सर्लाही मलंगवा नगरपालिका–१० मा डेरा गरी बस्दै आएका यादवलाई गत फागुन ३ गते साँझ ८ बजे फोन गरेर डेराबाट बाहिर बोलाएको बाहिर निस्किएलगत्तै छातीमा गोली प्रहार गरी हत्या गरिएको थियो । प्रहरीले उनलाई उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा पुर्‍याए पनि उपचारका क्रममा मृत्यु भएको थियो । पोस्टमार्टम प्रतिवेदनअनुसार छातीमा लागेको गोली नै मृत्युको कारण रहेको छ ।

सुक्ष्म अनुसन्धान, प्राविधिक विश्लेषण, इन्टेलिजेन्स परिचालन तथा मृतकका परिवार, नातेदार र सहकर्मीहरूसँगको सोधपुछबाट घटनाको योजनाकार महोत्तरी रामगोपालपुर नगरपालिका–५ का ३४ वर्षीय गणेश कुमार महतो रहेको खुलेको छ । उनी सर्लाहीको रामनगर गाउँपालिकामा करारमा प्राविधिक सहायकका रूपमा कार्यरत रहेका थिए ।

मधेश प्रदेश लोकसेवा आयोगबाट सहायक पाँचौँ तह सव–इन्जिनियर पदमा मुख्य सिफारिस भएका यादव थिए भने महतो एक मात्र वैकल्पिक उम्मेदवार थिए,नियुक्ति भएको व्यक्ति एक वर्षभित्र पद रिक्त भएमा मात्र वैकल्पिक उम्मेदवारलाई अवसर प्राप्त हुने कानुनी व्यवस्थाको गलत बुझाइका आधारमा महतोले हत्या योजना बनाएको प्रहरीको दाबी रहेको छ । यसअघि पनि पटक–पटक वैकल्पिक उम्मेदवार बने पनि नियुक्ति नपाएपछि उनी असन्तुष्ट थिए ।
महतोले आफूलाई ‘राकेश यादव’ नामबाट चिनाउँदै मृतकसँग सम्पर्क बढाएका थिए । कामको सिलसिलामा फोन सम्पर्क गर्ने क्रममा वास्तविक परिचय लुकाएका थिए ।

मृतकको ह्वाट्सएपमा उनको नम्बर ‘राकेश यादव’ नाममै सेभ थियो । घटनाको दिन पनि ह्वाट्सएप कल गरेर यादवलाई डेराबाहिर बोलाएका थिए । बाहिर निस्किएलगत्तै साथमा ल्याएको पेस्तोलबाट छातीमा गोली प्रहार गरी फरार भएका थिए । घटनामा बसबरीया गाउँपालिका–२ मानपुरका २२ वर्षीय चन्द्र किशोर सिंह कुशवाहा (महतोका साला नाता पर्ने) पनि संलग्न रहेको खुलेको छ । दुवै जना भारतीय नम्बर प्लेट बिआर ०१ एफ जेड १०८२ नम्बरको मोटरसाइकलमा बरहथवाबाट मलंगवा पुगेका थिए ।
गोली प्रहारपछि सोही मोटरसाइकलमा भागेर रौतहट गढीमाई नगरपालिका–५ बलुवास्थित बागमती नदीको बाँधछेउ मोटरसाइकल छाडेर फरार भएका थिए । मोटरसाइकल भोलिपल्ट बेवारिसे अवस्थामा फेला परेको थियो ।

महतोका भाइ २२ वर्षीय विजय कुमार महतोको पनि संलग्नता रहेको खुलेको प्रहरीको स्रोतले जनाएको छ । घटनाको केही महिना अघि गणेशले विजयलाई ८० हजार रुपैयाँ दिएर हतियार खरिद गर्न लगाएका रहेछन् । विजयले सो रकममा पेस्तोल खरिद गरी दाजुलाई उपलब्ध गराएको प्रारम्भिक बयानमा बाट खुलेको छ । घटनास्थलबाट एक थान गोलीको खोका बरामद गरिएको थियो ।
प्रयोग भएको पेस्तोल घटना भएको केही दिनपछि मलंगवा नगरपालिका–४ ढाका बोर्डर टोलस्थित निर्माणाधीन हनुमान मन्दिरभित्र स्थानीय बालकले फेला पारेका थिए । नक्कली ठानेर पट्काउँदा पेस्तोल चलेर बालक घाइते भएका थिए । सोही हतियार नै घटनामा प्रयोग भएको पुष्टि भएको छ । प्रहरीले गणेशलाई फागुन १२ गते मलंगवा–८ बाट, चन्द्र किशोरलाई फागुन १३ गते बलरा–४ बाट र विजयलाई फागुन १४ गते महोत्तरी रामगोपालपुर–५ बाट पक्राउ गरेको छ ।गणेशको साथबाट एक थान भिभो वाई १९ एस मोबाइल तथा घरबाट भिभो टी ३ ५ जी र बेनको ई ६ मोबाइल बरामद गरिएको छ । ती मोबाइल तथा अन्य डिजिटल प्रमाणको प्राविधिक परीक्षण भइरहेको छ ।
तीनै जनाविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत कर्तव्य ज्यान तथा हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । ज्यान मार्ने नियतले गरिएको कसुरमा जन्मकैदसम्म सजाय हुन सक्छ भने इजाजतपत्रबिना हातहतियार कारोबार गरेमा सात वर्षसम्म कैद र जरिवाना हुने व्यवस्था रहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles