पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर–१ मा जनता समाजवादी पार्टी (जसपा) को शक्ति थप सुदृढ भएको छ। विभिन्न राजनीतिक दल परित्याग गर्दै सयौं नेता तथा कार्यकर्ता जसपामा प्रवेश गरेका छन्। नवप्रवेशीहरूले आगामी प्रतिनिधिसभा निर्वाचनमा पर्सा–१ का उम्मेदवार रामनरेश यादवलाई विजयी गराउन संगठित रूपमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट वीरगञ्ज महानगरपालिकाको मेयर पदका प्रत्याशी रहेका शिव पटेलसहित विभिन्न दलका प्रभावशाली नेता तथा कार्यकर्ताहरू जसपामा समाहित भएका हुन्।
पार्टी प्रवेश गर्नेहरूमा शिव पटेल, सन्तोष पासवान, इस्लाम मियाँ, हरेराम पटेल, जंगबहादुर पासवान, नथु राउत, जलिल मियाँ, मुख्तार देवान, उमेश पटेल, आसिक अन्सारी, साम सिंह, सुरेन्द्र राम, धन सुनार साह र सोनालाल मण्डललगायत सयौं युवा तथा कार्यकर्ता सहभागी थिए।

नवप्रवेशीहरूलाई मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत गद्दी र जसपा उम्मेदवार यादवले टीका र गम्छा लगाएर स्वागत तथा सम्मान गरेका थिए। सो अवसरमा बोल्ने नेताहरूले मधेसी समुदायको अधिकार, सामाजिक न्याय र समावेशी विकासका मुद्दालाई सशक्त रूपमा उठाउन जसपा नै प्रभावकारी राजनीतिक शक्ति भएको धारणा व्यक्त गरे।

उम्मेदवार यादवले पार्टीमा प्रवेश गर्ने सबैप्रति आभार व्यक्त गर्दै जनताको भरोसालाई अझ मजबुत बनाउँदै अघि बढ्ने प्रतिबद्धता जनाए। उनले निर्वाचनपछि पर्सा–१ को समग्र विकास, रोजगारी सिर्जना, सुशासन र समावेशी विकासलाई प्राथमिकतामा राखेर काम गर्ने स्पष्ट पारे।

चुनावी माहोल तातिँदै गएको सन्दर्भमा विभिन्न दलबाट जसपामा भइरहेको सामूहिक प्रवेशले पर्सा–१ को राजनीतिक समीकरणमा नयाँ गति र चर्चा थपिएको स्थानीय राजनीतिक विश्लेषकहरूको भनाइ रहेको छ।


