आगामी प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै सर्लाहीमा नेपाली सेनाले बख्तरबन्द गाडीमार्फत गस्ती सुरु गरेको छ ।आइतबार बिहानदेखि नेपाली सेनाको टोलीले गस्ती सुरु गरेको हो ।यसअघि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितको संयुक्त टोलीले जिल्लाका विभिन्न भागमा गस्ती गर्दै आएको थियो ।यसलाई थप मद्दतका लागि सेनाले बख्तरबन्द गाडीसहित चारवटै निर्वाचन क्षेत्रमा गस्ती सुरु गरेको हो ।
स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यले सर्लाहीमा तैनाथ नेपाली सेनाको कालिध्वज गण पाँच कुमारी ब्यारेकले सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन बख्तरबन्द गाडीसहित गस्ती निकालेको जनाएको छ ।सेनाले जिल्लाभित्र सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ ।अत्याधुनिक सैनिक सवारी साधनहरू प्रयोग गरी मतदान स्थलहरूमा एकैसाथ सुरक्षा गस्ती तथा निगरानी तीव्र बनाएको छ ।निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले जिल्लाभर पैदल, सवारी, मोटरसाइकल तथा बख्तरबन्दसहित सुरक्षा गस्ती सञ्चालन गरिएको प्रमुख सेनानी उमेश खड्काले जानकारी दिएका छन् ।


