गस्तीमा खटिएको प्रहरी टोलीमाथि आक्रमण भएपछि प्रहरीले आत्मरक्षाका लागि हवाई फायर गर्दै चारजनालाई नियन्त्रणमा लिएको छ। घटना सोमबार राति पौने ११ बजे ललितपुरको चाँगाथली क्षेत्रमा भएको हो ।
प्रहरी चौकी लुभुबाट खटिएको टोलीमाथि ढुंगामुढा गरी आक्रमण भएपछि स्थितिलाई नियन्त्रणमा लिन १ राउन्ड हवाई फायर गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।त्यसपछि थप टोली परिचालन गरी घटनामा संलग्न चारजनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
पक्राउ पर्नेमा मकवानपुर गढी गाउँपालिका–२ स्थायी घर भई हाल महालक्ष्मी नगरपालिका–७ चाँगाथली बस्ने २९ वर्षीय विकास भन्ने बुद्ध तामाङ, सल्यान दार्मा गाउँपालिका–३ घर भई हाल भक्तपुर बस्ने २० वर्षीय रमेश शाही, सल्यान दार्मा गाउँपालिका–३ घर भई हाल भक्तपुर सिरुटार बस्ने २० वर्षीय शंकर शाही र रूकुम सानोभेरी गाउँपालिका–२ घर भई हाल भक्तपुर बालकोट बस्ने २२ वर्षीय राजु मगर रहेका छन्।पक्राउ परेकाहरूलाई “उत्तेजना र रिसको आवेशमा कुटपिट” सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी ललितपुर जिल्ला अदालतबाट ८ दिन थुनामा राख्ने म्याद लिइएको छ।आक्रमणमा घाइते भएका प्रहरी कर्मचारीको किस्ट अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको ललितपुरका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले बताएका छन् ।


